
धादिङ । सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोर गराउन थालिएको छ ।
उत्तरी धादिङको तीन गाउपालिकालाई प्रत्यक्ष लाभ पुर्याउने पुलको आइतबार सङ्घीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । खनियाँबास–४ र नेत्रावती डबजोङ गाउँपालिका–१ जोड्ने किन्ताङखोलामा बनेको पुल ४२ दशमलव ६७ मिटर लामो र चार दशमलव दुई मिटर चौडा रहेको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो ।
वर्षाको समयमा पानी बढेपछि खोला तर्न नसक्दा उत्तरी धादिङका स्थानीयलाई सदरमुकामबाट दैनिक उपभोग्य सामान लैजानसमेत कठिनाइ थियो । बिरामी पर्दा हेलिकप्टरको सहारा लिनुपर्ने बाध्यता थियो । उनीहरु अब त्यो बाध्यताबाट मुक्त भएका छन् । उत्तरी धादिङलाई जोड्न अझै दुई पुल बनाउन आग्रह गरिएको सांसद अधिकारीले बताउनुभयो ।
कूल १ करोड १० लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो । पुल निर्माणकोे खर्च सुरुमा खनियाँबास गाउँपालिका र पछि नुवाकोटको किस्पाङ गाउँपालिका, गङ्गाजमुना गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाले सहयोग गरेको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो । धादिङको उत्तरी भेगलाई सदरमुकाम धादिङबँेसी जोड्ने यो नै मुख्य मार्ग भएकाले पुल निर्माणले जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने उहाँको भनाइ छ ।
ट्रयाक खोलिएको झन्डै चार दशकपछि पुल निर्माण हुँदा उत्तरी क्षेत्रका स्थानीय खुशी छन् । ‘पुल बनेपछि हामीलाई घरकै ढोका खुलेकोजस्तै अनुभव भइरहेको छ’ स्थानीय प्रकाश तामाङले भन्नुभयो– ‘सडक भएर पनि पुल नहुँदा घन्टौँ लगाएर हिँडेरै यात्रा गर्न बाध्य थियौँ । कृषिजन्य उत्पादन गाउँमा हरेक वर्ष कुहिएर जान्थ्यो । अब कृषिजन्य उत्पादन गाडीमा बजारसम्म लगेर बिक्री गर्ने र घर खर्च चलाउने, चाडपर्व मनाउने धोको पूरा हुने भएको छ ।’
नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्रि ए र थ्रि बिको स्वामित्वमा रहेको बेली ब्रिज बेत्रावतीबाट ल्याएर किन्ताङफेदीमा जडान गरिएको हो । गत असोज १२ गते शिलान्यास भएसँगै नेपाली सेनाको १४ नम्बर बाहिनीअड्डाको प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय