+

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध

महोत्तरी ।  मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध कायम छ । होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश र पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) बीच शनिबार बर्दिबासमा मितेरी सम्बन्ध कायम गरिएको घोषणा भएको हो ।

मधेस प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्रीको उपस्थितिमा भएको समारोहमा होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हीरालाल गौतम र  पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) गण्डकी पोखराका अध्यक्ष कमला गिरीले आपसी मित्रता, भ्रमण र अनुभव आदानप्रदान गरिने बताउँदै मितेरी सम्बन्ध कायम गरिएको घोषणा गर्नुभएको हो ।

गण्डकीबाट मधेसका पर्यटकीयस्थल अवलोकन र थप सम्भावनाबारे अध्ययन गर्न मधेस आएको गण्डकी टोलीको सम्मानमा होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले आयोजना गरेको सम्मान समारोहमा यो घोषणा भएको हो ।

समारोहमा पर्यटन व्यवसायी महिला सङ्घ गण्डकी पोखराका अध्यक्ष गिरीले मधेस धार्मिक पर्यटनको दृष्टिले उर्वर रहेको धारणा राख्नुभयो । ‘यहाँ सप्तरीबाट पर्सासम्मका आठै जिल्लामा प्राचीन धार्मिक सम्पदा रहेछन्, यद्यपि तिनको समुचित  व्यवस्थापन हुनसकेको रहेनछ’ गण्डकीबाट २० सदस्यीय महिला व्यवसायीको नेतृत्व गर्दै मधेस आउनुभएकी अध्यक्ष गिरीले भन्नुभयो । 

समारोहमा सरिक मधेस सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, श्रम तथा यातायातमन्त्री बेची लुङ्गेली र गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदा थापाको ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो– ‘अहिले आर्थिक वर्ष २०८१÷८२ को बजेट तयारीको बेला छ, यस क्षेत्रमा मन्त्रीज्यूहरूको ध्यान पुगोस् ।’ समारोहमा उहाँले तीनैजना मन्त्री, होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश र होटल तथा पर्यटन व्यवसायी सङ्घलाई गण्डकी भ्रमणको निमन्त्रणा हस्तान्तरण गर्नुभयो ।

मन्त्री भट्टराईले मधेसमा पर्यटन पूर्वाधारका काम योजनाबद्ध रूपले अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । यहाँका प्राचीनकालदेखिका जनमनमा स्थापित धार्मिक र पर्यटकीयस्थलका रूपमा विकास गरिने उहाँले बताउनुभयोे । 

मन्त्री लुङ्गेलीले मन्त्रालयमातहतका कामलाई पारदर्शी  बनाउन आपूm लागिपरेको बताउनुभयो भने राज्यमन्त्री थापाले आफ्नो तहबाट प्रदेशको पर्यटन प्रवर्द्धनका कामलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

त्यही समारोहमा उद्यममा महिला सहभागिता बढाउन र आर्थिक उपार्जनमा महिलालाई अग्रसर गराउनेबारे ‘दिगो पर्यटनका लागि समान सहभागिता’ विषयमा भएको छलफलमा   मधेस र गण्डकीका व्यवसायीले आफ्ना अनुभव आदानप्रदान गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै