+

बस्तीबीचमा क्रसर उद्योग, साढे ४ सय परिवारको उठिबास

सर्लाही ।  लालबन्दी नगरपालिकामा  क्रसर उद्योगका कारण ४ सय ५० घरपरिवार रहेको बस्ती विस्थापित हुने अवस्थामा पुगेको छ । 

नगरपालिकाको वडा नम्बर १७ स्थित साहेवगञ्जमा मापदण्ड विपरीत क्रसर उद्योग संचालन गरिएपछि सिंगो बस्तीनै  विस्थापित  हुने अवस्था भएको हो ।  घना बस्तीबीचमा मापदण्ड विपरित संचालनमा रहेको ‘प्रिन्स क्रसर उद्योग’का कारण यहाँका स्थानीय धुवाँ र धुलोले निस्सासिएर उकुसमुकुस भएका छन् ।  

बाक्लो बस्तीको बीचैमा संचालनमा रहेको क्रसर उद्योग हटाउन  बासिन्दाले स्थानीय सरकार र प्रशासनलाई पटक पटक गुहार गरे पनि सुनवाइ नभएको बताएका छन् । सास फेर्न सकिएन भनेर अनुनय गरे । ध्वनी प्रदुषणका कारण उठिबास लाग्यो भनेर उद्योग हटादिन बिन्ती गरे । तर कुनैपनि सरकारी निकायले स्थानीयको यो आवाजलाई चासो नदिएका कारण उनीहरु धुलो, धुँवा र होहल्लाको कोलाहालमा रुमल्लिन बाध्य भएका छन् ।  श्वासप्रश्वास लगायत विभिन्न प्रकारका गम्भीर रोगसँग जुध्न विवस छन् । 

क्रसरबाट बस्तीसम्म् फैलिएको धुवाँ र धुलोको मुस्लो
क्रसर संचालकले क्रसर उद्योग व्यवस्थित रुपमा सञ्चालन नगर्दा वनजंगललाई समेत असर पुगेको छ। केही परिवार विस्थापित भएका छन् । स्थानीयवासी नारायण प्रसाद रिमालले उद्योगका कारण सिंगो बस्ती आक्रान्त बनेको बताउनुभयो । 

‘आवाज र धुलोले खपिनसक्नु असर गरिरहेको छ, धुलोले बारीका सागपात तथा अन्नबाली छपक्कै ढाक्नेभएकाले उब्जनीमा ठक्प भयो,’ उहाँले भन्नुभयो, ‘कोलाहलले राति सुत्न सकिँदैन, भान्सामा पाकेको खाना पनि आधाउधी धुलोले भरिएको हुन्छ । क्रसरले उडाएको धुलोका कारण जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ । पानीका मुहान धुलाम्य भएका छन्’ रिमालले भन्नुभयो ।

वरीपरी घना बस्ती रहेको लालबन्दी नगरपालिका वडा नम्बर १७ साहेवगञ्जमा यो क्रसर उद्योगले संचालनको अनुमति लिएको छ । क्रसरका संचालनक नवराज अधिकारी कांग्रेसका स्थानीय नेता भएपनि केन्द्रीय स्तरका नेतासँग उहाँको राम्रो उठबस छ । उहाँ लालबन्दी नगरपालिका वडा नम्बर १७ को पूर्व वडाध्यक्ष समेत हुनुहुन्छ । आफूवडाध्यक्ष भएको समयमा उहाँले प्रशासनलाई राजनीतिक पहुँचका आधारमा प्रभावका पारेर बस्ती बीचमा मापदण्ड विपरीत क्रसर संचालनको अनुमति लिएको स्थानीय बताउँछन् । यो उद्योगाम अहिले नवराज अधिकारी बाहेक उहाँका दाजुहरु पुरुषोत्तम अधिकारी, यादव अधिकारी र भतिज पुरन अधिकारीको लगानी रहेको छ ।

यसरी मापदण्ड विपरीतको क्रसर खोल्न अधिकारी परिवारले स्थानीयको हस्ताक्षर दुरुपयोग गरेको खुलासा भएको छ । अर्कै प्रयोजनका लागि संकलन गरिएको स्थानीयको हस्ताक्षरलाई नवराज अधिकारी र उहाँको परिवारले उद्योगको इजाजत दिने क्रममा स्थानीयको सहमति छ भनेर बुझाएको भएको खुलासा भएको छ । 

‘शुरुमा उहाँले खानेपानीको डीपबोरिङ सहितको संरचना बनाएर गाउँमा खानेपानी वितरण गर्ने भनेर स्थानीयको हस्ताक्षर संकलन गर्नुभयोे’  क्रसर प्रभावित स्थानका स्थानीय भन्छन्, ‘यसरी संकलन गरिएको स्थानीयको हस्ताक्षरलाई दुरुप्रयोग गरेर उहाँले बस्ती बीचैमा क्रसर उद्योग खोल्न दुरुपयोग गर्नुभएछ, प्रभावित स्थानमा स्थानीय ज्ञानबहादुर खड्का भन्नुहुन्छ ।   

बस्ती बीचमा यसरी उद्योग खोल्न पाईदैन भनेर स्थानीयले पटक पटक आवाज नउठाएका होइनन् । तर उनीहरुलाई स्थानीय गुण्डा लगाएर थर्काइन्छ, अहिले पनि हामीलाई धम्की दिनसक्छन्, मिडियामा यति बोलेकै भरमा नवराजका गुण्डाहरुले गोली ठोक्न सक्छन् तर क्रसरको धुँवामा निसास्सिएर मर्नु भन्दा गोली खाएरै मर्नु ठिक लागेर हामी आन्दोलनमा उत्रिएका हौ’ क्रसर प्रभावित आन्दोलन समितिका सदस्य मोती शिवभक्तिले भन्नुभयो ।   


स्थानीय साजन खत्री क्रसरका कारण विभिन्न समस्या देखापरेको बताउनुहुन्छ । ‘गाउँमा बस्न सक्ने स्थिति छैन, चर्को आवाजले ओल्लो घरबाट बोलाएको अर्को घरमा सुनिदैन’, उहाँले भन्नुभयो, “कि त क्रसर बन्द गर्नुपर्‍यो कि बस्ती नै हटाउनु पर्‍यो।’
क्रसर संचालन भएको स्थान (रातो घेरामा) र आसपासको बस्तीको गुगलम्याप

क्रसर रहेको स्थान भन्दा करिब ५० मिटिरमा कालिञ्जोर माध्यमिक विद्यालय छ भने करिब २ सय मिटर नजिक फौदसिहं माध्यमिक विद्यालय छ । क्रसरबाट उडेको धुलो र चर्को होहल्लाका कारण विद्यालयको पठनपाठमा समेत गम्भिर असर परिहेको कालिञ्जोर माध्यमिक विद्यालय प्रधानाध्यापक दुर्गानन्द झा बताउनुहुन्छ । धुलो र होहल्लाका कारण विद्यालयमा पढाउने वातावरण नै छैन, उद्योग हटाईदिनु भनेर वडा कार्यलय र प्रहरी कार्यलयमा पटक पटक लिखित पत्र पठायौँ तर कसैले सुनेनन्, शिक्षक धुलो र धुँवामा निसास्सिएर पढाइरहेका छौँ, विद्यार्थीले उकुसमुकुस भएर पढिरहेका छन्, प्रधानाध्यमक झा भन्नुहुन्छ । क्रसरकै कारण नजिकैको कालिञ्जोर माद्यमिक विद्यालयमा पनि गम्भिर असर परिहेको छ । धुलो र धुँवाका कारण विद्यालयमा पढ्ने पढाउने वातावरण नै छैन, उद्योग सार्न पटक पटक अनुरोध गर्यो, तर गद्योगले गुण्डा लगाएर उल्टै थर्काउछ, फौदसिहं माध्यमिक विद्यालयका प्रधानाध्यापक मिनबहादुर पूर्वछाने मगर बताउनुहुन्छ । विद्यालय आउने बालबालिका श्वासप्रश्वास सम्बन्धी समस्याले ग्रसित भएको उहाँको भनाई छ ।

करिब ५० बिगाह सरकारी जग्गा क्रसरको कब्जामा

क्रसर उद्योगले साहेवगञ्जमै रहेको ३ विगाह क्षेत्रफलमा फैलिएको सार्वजनिक खेल मैदान जबरजस्ती कब्जामा लिएको छ । केही वर्ष पहिलासम्म स्थानीय युवाहरुले फुटबल खेल्ने यो मैदान अहिले हजारौँ टिफर गिट्टी र बालुवाले भरिएको छ । हामी फुटवल खेल्ने यो मैदान अहिले उद्योगले कब्जामा लिएर क्रसरको डम्पिङ  बनाएको छ । यो सरकारी जग्गा हो तर अहिले क्रसरले कब्जा जमाएको छ, स्थानीय राम थापा भन्नुहुन्छ, यसलाई फिर्ता ल्याउन धेरै पहल गर्यौँ तर प्रशासनले हाम्रो आवाज सुनको छैन । 

क्रसरले कब्जा गरेको फुटबल मैदान (तल) र जंगल (माथि)

स्थानीय खेल मैदानबाहेक संगै रहेको राधाकृष्ण मन्दिरको वन क्षेत्रको ४० विगाह भन्दा धेरै सरकारी जग्गा समेत क्रसरले अतिक्रमण गरेको छ । मन्दिरको जग्गामा रहेको वन जथाभावी फडानी गेर प्राकृतिक स्रोतको चरम दोहन गरिहेको छ । तर पनि स्थानीय सरकार मुकदर्शक बनिरहेको यहाँका स्थानियको गुनासो छ । केहीवर्ष पहिला सम्म यो मन्दिर भन्दा पछाडिको भागमा विशाल जंगल थियो, राधाकृष्णको मन्दिरको डिलैमा उभिएर पश्चिमतिर देखाउदै स्थानीय ईश्वर रिमालले भन्नुभयो, उ त्याहाँ ऐतिहासिक कालिन्जोर खोला थियो, तर अहिले देखिहाल्नुभयो न खोला छ, न वन । क्रसले सबै खाइदियो ।

आफूहरु निर्वाचित भएर आउनु भन्दा पहिला नै उद्योग गर्दा भएर संचालनमा छ, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी भन्नुहुन्छ, इजाजत नै लिएर सञ्चालनमा रहेकाले पनि  क्रसर उठाउन समस्या भइरहेको छ । मेयर अधिकारी भन्नुहुन्छ, क्रसले नजिकैका विद्यालय र स्थानीयमा गम्भिर अबर पुर्याएको छ, यसलाई हटाउन पहल र प्रयास भइरहेको छ  । बस्ती बीचमा कसरी इजाजत प्राप्त गर्यो भन्ने विषयले आफूहरु पनि अम्चित भएको उहाँको भानाई छ । यसलाई हटाउन केन्द्रले नै पहल गर्नुपर्ने मेयर अधिकारीको भनाई छ । क्रसरका कारण खानेपानी आयोजनामा समेत असर गरेको छ, बस्तीको उठिबास लाग्ने अवस्था भएको छ, स्थानीयहरु बिरामी पर्न थालेका छन् । प्रमुख जिल्ला अधिकारीसँग पनि यस विषयमा कुरा भइरहेको उहाँको भनाइ छ ।  ‘हामी आएदेखि बस्ती बीचमा यस प्रकारका क्रसर दर्ता गर्न दिएका छैनौँ, इजाजत पनि नविकरण गरेका छौनौ ।’ सरकारी जग्गा अतिक्रमणका बिषयमा भने उहाँले अनविज्ञता प्रकट गर्नुभयो ।

क्रसरको ज्याददीका बारेमा आफूहरु पूर्ण रुपमा जानकार भएपनि यो अवैध क्रसरलाई बन्द गर्न प्रशासनले सहयोग नगरेको वडाध्यक्ष विष्णुहरी अधिकारीको भनाई छ । मेरै वडाको बीच बस्तीमा यो क्रसर संचालनमा छ, यसबाट आएको धुलो, धुवा र होहल्लाले सिंगो बस्ती आजित छ, यसलाई बन्द गर्न हामीले पटक पटक प्रशासनलाई पत्र लेखेका छौ तर पैसा र पहुँचका भरमा उद्योगले सिंगो बस्तीलाई रोगी बनाइरहेको छ, हटाउन सकिएको छैन, वडाध्यक्ष अधिकारी बताउनहुन्छ ।   

नियम अनुसार नै क्रसर संचालन गरिरहेका छौँ: अधिकारी

 
क्रसर उद्योगले यहाँ पारिरहेको असरकरका बिषयमा स्थानीज जनता आक्रान्त भइरहदाँ पनि उद्योग संंचालक नवराज अधिकारी भने नियम अनुसार नै उद्योग चलाइरहेको दावि गर्नुहुन्छ । प्रशासनबाट इजाजत लिएर उद्योग संचालन गरिहेको छु, स्थानीयलाई असर परेको भन्ने आफूलाई थाह छैन, उहाँले भन्नुभयो । सार्वजनिक जग्गा कब्जामा लिएको तथा दर्तागर्न स्थानीयको हस्ताक्षर दुरुपयोग गरिएको रहेछ नि ? भन्ने प्रश्नमा उहाँ मौन रहनुभयो र रवाफि शैलीमा भन्नुभयो तपाई जे सक्नुहुन्छ गर्नुहोस्, म मेरो काम गर्छु । इजाजत लिएर संचालन गरिहेको हुँदा कुनैपनि तागतले क्रसर बन्द गर्न नसक्ने उहाँको दाबी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै