
बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन ।
त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो । एक सातापछि उक्त आगो नियन्त्रणमा आयो । त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ । दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जङ्गल रित्तिएका छन् । आगलागीले वन्यजन्तु तितरवितर बनेका छन् ।
आगलागीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन । करिब एक दर्जन गोठ र पशुचौपाया जलेको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ । फागुनदेखि हालसम्म ३८ वटा सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा लागेको आगो अहिले पनि नियन्त्रण बाहिर छ । आगो नियन्त्रणका लागि कर्मचारीसहित स्थानीय खटिएको उहाँको भनाइ छ । अहिले १५ वटा सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको केसीले जानकारी दिनुभयो । हालसम्म एक हजार दुई सय हेक्टरभन्दा बढी जङ्गलमा आगलागी भएको उहाँ बताउनुहुन्छ ।
अधिकारी केसीले भन्नुभयो, “नागरिकको लापरबाहीका कारण धेरै वनमा आगलागी भएको हो, आगलागी हुनबाट रोक्नका लागि हामीहरुले जनचेतनामूलक कार्यक्रम गर्ने र नागरिकलाई सचेत बनाउनका लागि विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिरहेका छौँ, वनमा आगो लगाउने केही व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया पनि अगाडि बढाएका छौँ, आगोले ठूलो क्षेत्रफलमा फैलिएको वनमा क्षति पु¥याएको छ ।”
चार दिनदेखि निसीखोला गाउँपालिका–२ मा लागेको आगो अहिले नियन्त्रणमा लिन सकिएको छैन । उपल्लोबेङ्ग्रीदेखि सुरु भएको आगो वडा नं ४ को माझापाख हुँदै बडाचौरको बराह सामुदायिक वनमा फैलिएको छ । हावाहुरीका कारण आगो अझै नियन्त्रणमा ल्याउन नसकेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधी पौडेलले बताउनुभयो ।
आगो नियन्त्रणका लागि गाउँले नै लागे पनि असफल भएको उहाँको भनाइ छ । वडा न २ को शान्ति सामुदायिक वनबाट सुरु भएको आगो धेरै ठूलो क्षेत्रफल फैलिएको अध्यक्ष पौडेल बताउनुहुन्छ ।
“खडेरी परेको धेरै लामो समय भयो, अहिलेसम्म पानी पर्न सकेको छैन, आगलागी धेरै ठाउँमा भएको छ, एउटा वनबाट सुरु भएको आगो अहिलेसम्म एक दर्जन बढी वन सखाप परेको छ, गाउँले नै उठेर अहिलेसम्म घर गोठ जोगाएका छौँ, तर वनलाई जोगाउन सकेका छैनौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “आगो कसले लगाएको हो भन्ने पत्ता लागेको छैन, वर्षा पनि भएको छैन, माटो पनि बल्छ, सयौँको सङख्यामा मान्छे छन्, दिउँसोमा हावाहुरीले गर्दा निभाउन सकिँदैन, राति १ बजेसम्म जनता उठेर नियन्त्रण लिने कोसिस गरे पनि अझै सकिएको छैन ।”
आगो नियन्त्रणका लागि गाउँगाउँबाट ठूलो सङ्ख्यामा स्थानीय वनमा पुगे पनि हावाहुरीले गर्दा नियन्त्रण गर्न नसकेको स्थानीय रामबहादुर घर्तीले बताउनुभयो । शुक्रबार साँझदेखिनै आफूहरु सुरक्षित भएर स्याउलाका भरमा आगो निभाउने प्रयास गरेको उहाँको भनाइ छ । सडकभन्दा निकै टाढाको वनमा आगलागी हुँदा दमकलको प्रयोगसमेत गर्न नसकिएको घर्ती बताउनुहुन्छ । आफूहरु रातभर जागराम बसेर आगो नियन्त्रणमा लागेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै