
दाङ । चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो छ ।
बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोप्नुभएको छ । चैते धानले उहाँको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ ।
वर्षेनी चैते धान रोप्दै आउनुभएका घर्तीले हिजो रोपाइँ सक्नुभएको हो । उहाँले भन्नुभयो– ‘सिँचाइको सुविधा छ, उत्पादन पनि मनग्ये हुने भएकाले पहिलेदेखि नै चैते धानखेती गर्दै आएका छौँ ।’ चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान र एक बाली गहुँखेती गर्दै आउनुभएका घर्तीले बर्खे धानको तुलनामा चैते धान अधिक फल्ने बताउनुभयो । उहाँले यस वर्ष ११ रोपनी क्षेत्रफलमा धान रोप्नुभएको छ ।
बङ्गलाचुलीका अर्का किसान मुगा डाँगी पनि अहिले चैते धान रोप्न व्यस्त हुनुहुन्छ । चार रोपनी जग्गामा रोपाइँ जारी छ । थोरै जमिनबाट धेरै उत्पादन लिन पनि आफूले प्रत्येक वर्ष धानखेती गर्दै आएको उहाँले बताउनुभयो । स्थानीय सरकारबाट सहयोग नभएको गुनासो गर्दै उहाँले त्यसो भएमा उत्पादन बढाउन सहज हुने बताउनुभयो ।
चैते धानबाट प्रशस्त आम्दानी हुने भएपछि आफूलगायत गाउँका अधिकांश किसानले चैते धान लगाउँदै आएको उहाँ बताउनुहुन्छ । वर्षमा दुई बाली धानखेती गर्ने स्थानीयवासीले बर्खेभन्दा चैते धानबाट धेरै आम्दानी गर्ने गहतेरा निवासी चूर्ण डाँगी बताउनुहुन्छ । चैते धान प्रवर्द्धन गर्न स्थानीय वा प्रदेश सरकारले अनुदानको व्यवस्था गर्नुपर्नेमा उहाँको जोड छ ।
कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका– १, बङ्गलाचुली गाउँपालिका–३ र ४ सँगै देउखुरीका केही स्थानमा चैते धानखेती हुने गरेको छ । जिल्लामा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धानखेती हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु