
रामेछाप । नगर क्षेत्रमा फोहर विसर्जनको समस्या भइरहेको बेला रामेछापका युवा भने फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन् ।
कागजजन्य फोहर सङ्कलन गरी अण्डा राख्ने क्रेट बनाएर उनीहरूले नगरको सरसफाइमा योगदान गरेका छन् भने त्यसलाई आय आर्जनको स्रोत पनि बनाएका छन् । जिल्लाको सहरी क्षेत्रमा फालिएका कागजजन्य वस्तुलाई सङ्कलन गरेर त्यसलाई पुनः प्रयोग गर्ने उद्देश्यले यहाँका सातजना युवा मिलेर ग्रिन हाइलाइट प्रालि स्थापना गरेका हुन् । जिल्लालाई सफा राख्ने र केहीलाई रोजगारी दिएर आय आर्जनको बाटो बनाएको अभियानका साथ स्थानीयलाई रोजगारी दिएर शुरु गरिएको यो उद्योग समस्यामा परेको छ ।
शुरुमा प्रतिगोटा सात रुपैयाँका दरले बिक्ने क्रेट अहिले प्रतिगोटा चार रुपैयाँमा पनि बिक्न मुस्किल छ । यसअघि यसले राम्रै बजार पाएको भए पनि विद्युत् नियमित नहुने र भारतीय क्रेटसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था यस उद्योगले झेल्नुपरेका कारण समस्या बढ्दै गएको हो । उत्पादन भएका क्रेट स्थानीय रामेछापका बजार, सिन्धुली दोलखा, ओखलढुङ्गा र काठमाडौँसम्म लगेर बिक्री गर्ने गरिएको थियो । तर अहिले राम्रो बजार नपाएपछि निर्माण गरिएका क्रेट गोदाममै थन्किएर बसेका छन् । मेसिन बेलाबेलामा बिग्रने, पार्टपुर्जा सर्वसुलभ नहुने भएकाले उद्योगमा समस्या आएको उद्योग सञ्चालक सुनिल रायले बताउनुभयो ।
उद्योगमार्फत प्रत्येक शनिबार जिल्ला सदमुकाम मन्थली लगायतका अन्य शहरी क्षेत्रमा कागजजन्य फोहर प्रतिकिलो १० रुपैयाँका दरले खरिद गरी त्यसलाई प्रशोधन गरेर विभिन्न साइजका अण्डा राख्ने क्रेट बनाउने गरिएको छ । यस उद्योगमा महिला एवं पुरुष गरी १५ जनाभन्दा बढीले रोजगारी पाएको अर्का सञ्चालक जयराम मानन्धरले बताउनुभयो ।
उद्योग स्थापना हुनुअघि आफ्नो घर तथा पसलबाट निस्कने फोहरलाई पैसा तिरेर नगरपालिकाको गाडीमा पठाउनुपर्ने बाध्यता भए पनि अहिले भने काजगजन्य फोहर बिक्री गर्न पाउँदा आफूलाई खुसी लागेको उप्रेती स्टोर्सका प्रोप्राइटर रामहरि उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो, “कागजजन्य वस्तुजस्तै प्लास्टिकजन्य वस्तु पनि यसैगरी उठाउने हो भने मन्थली बजार सधैँ सफा हुने थियो ।”
अण्डाको क्रेटसँगै यस उद्योगले सिमेन्टका ब्लक पनि निर्माण गरेको छ । प्लास्टिकजन्य र फलामका टुक्रालाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने वस्तु निर्माण गर्ने उद्योगको योजना छ । स्थानीय तहमा उत्पादन हुने वस्तुलाई सम्बन्धित पालिकाले प्राथमिकता दिनुपर्नेमा उद्योगका सञ्चालक रुद्रकुमार श्रेष्ठ बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै