
बाँके । राप्ती सोनारी गाउँपालिका–३ बैजापुरस्थित ऐतिहासिक भुवरभवानी मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
भुवरभवानी मन्दिरमा पर्यटन प्रवद्र्धन गर्दै जिल्लाकै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफूहरु लागिपरेको राप्ती सोनारी–३ बैजापुरका अगुवा प्रेमराज श्रेष्ठले बताउनुभयो ।
‘धार्मिक पर्यटकीय क्षेत्रका रुपमा भुवरभावनी मन्दिरलाई विकास गर्न हामी लागिपरेका छौँ’ उहाँले भन्नुभयो, – ‘माघी मेलामा मात्र नभइ बाहै महिना धार्मिक पर्यटक आउने वातावरण बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोगको खाँचो रहेको छ ।’
भुवरभवानी मन्दिरमा थारु समुदायको प्रमुख पर्व माघीको अवसरमा चार दिनसम्म पूजाआजासँगै माघी मेला लाग्ने गर्दछ । यसबाहेक जेठ महिनाको पञ्चमी तिथिमा जेठी पूजैया र मङ्सिरमा लवाङ्गी नयाँ अन्न चढाउने विशेष पूजा हुने स्थानीय अगुवा बरघरका नेता चौधरी विष्णुप्रसाद थारुले बताउनुभयो ।
‘राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५का स्थानीयले भुवरभवानी मन्दिरमा विशेष आस्थाका साथ पूजाआजा गर्दै आएका छन्’ उहाँले भन्नुभयो– ‘जेठी र लवाङ्गी पूजैया गर्दा जति खर्च हुन्छ त्यो चार वडाका ९ सय घरपरिवारबाट दामासाही तरिकाले सङ्कलन गर्ने चलन रहेको छ ।’
भुवरभवानी मन्दिर परिसरमै बागेश्वरी मन्दिर पनि रहेको छ । भुवर भवानी तथा बागेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिले मन्दिरको व्यवस्थापन गर्दै आएको छ । बैजापुरको वनघुस्री क्षेत्रको हरियाली डाँडामा रहेको भुवरभवानी मन्दिर रमणीय र सुन्दर रहेकाले एकपटक पुग्ने व्यक्ति फेरि आउने गरेको मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिका निवर्तमान अध्यक्ष तुलसीराम थारुले बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा मन्दिरलाई वैधानिक रुपमा सञ्चालनका लागि विधान बनाउनेदेखि मन्दिरको सौन्दर्यकरण र मन्दिर परिसरमा वनभोजस्थल निर्माण कार्य गरेको बताउनुभयो ।
गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारुले भुवरभवानी मन्दिर धार्मिक पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको बताउनुभयो । आफू गाउँपालिका अध्यक्ष हुँदा मन्दिरको संरक्षण र सम्वद्र्धनका साथै पूर्वाधार विकासका काम गरेको उल्लेख गर्दै उहाँले अब धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
वडा नम्बर २, ३, ४ र ५ का स्थानीय अगुवा, बडघर र मतहवाको उपस्थितिमा शनिबार भएको भुवरभवानी तथा बागेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिको पाँचौँ साधारणसभाले भुवरभवानीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ टीकाराम थारुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
साधारणसभाले दिएको कार्यदेश अनुरुप आफूहरु मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धनसहित पूर्वाधार विकासका काममा अग्रसर हुने नवनिर्वाचित अध्यक्ष थारुले बताउनुभयो । वडा नम्बर ३ का वडाध्यक्ष मीनकुमार चौधरीले प्रचारप्रसारको अभावमा ओझेलमा परेको भुवरभवानी मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक बजेटका लागि आफूले गाउँपालिका र प्रदेश सरकारसँग पहल गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु