
कैलाली । सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षमता भएको कोल्डस्टोर आर्थिक अभावका कारण सङ्कटमा परेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको कोल्डस्टोर लिलामी हुने अवस्थामा पुगेको हो ।
किसानको आवश्यकतालाई मध्यनजर गर्दै घोडाघोडी–१० मा विसं २०७७ फागुनमा तीन हजार मेट्रिकटन क्षमता भएको प्रदेशकै सबैभन्दा ठूलो कोल्डस्टोर सञ्चालन गरिएको थियो ।
रिज्म परियोजनाको एक करोड ९० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको कोल्डस्टोर २० करोड रुपैयाँ बढी लगानीमा तयार भएको थियो । निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आएको कोल्डस्टोरले ऋण तिर्न नसक्दा बन्द हुने अवस्था पुगेको कोल्डस्टोर सञ्चालक समितिका अध्यक्ष रामबहादुर रावतले बताउनुभयो । उहाँका अनुसार स्टोरलाई २० करोड रुपैयाँँ बढी ऋण रहेको छ।
‘बैंकमा मात्रै १६ करोड ४४ लाख रुपैयाँ ऋण छ । अन्य सहकारी, विद्यालय, सामुदायिक वनलगायतमा गरी २० करोड बढी पुग्छ’ रावतले भन्नुभयो– ‘सरकारले अनुदान पनि दिएन अहिलेसम्म किसानकै पैसाबाट सञ्चालन भइरहेको छ । ’उहाँका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० कोल्डस्टोरका लागि ९ करोड ९० लाख रुपैयाँँ विनियोजन गरे पनि उपलब्ध भएको छैन ।
कोल्डस्टोर सञ्चालन भएकै वर्ष यहाँका तीन हजार चार सय ५३ जना किसानले आफ्नो उत्पादन राखेकामा अहिले सङ्ख्या बढेर छ हजार बढी पुगेको रावतले जानकारी दिनुभयो । कैलाली, कञ्चनपुरसहित डडेल्धुराको गन्यापधुरा गाउँपालिका, पर्शुराम नगरपालिका र रुपन्देहीको शुद्धोदन गाउँपालिकाका किसान यसबाट लाभान्वित भएका छन् । किसानको सङ्ख्या बढिरहे पनि आर्थिक अभावका कारण बन्द गर्नुपर्ने अवस्था आउन लागेको रावतको भनाइ छ ।
कोल्डस्टोर भएर निकै सहज भएको कैलालीको बर्दगोरिया गाउँपालिकाबाट आलुको बिउ भण्डारण गर्न आएका किसान रामु चौधरीले बताउनुभयो । ‘यसपटक वर्षभरि घरमा खानलाई राखेर बेचेको ल्याएको छु । बन्द हुने अवस्थामा स्टोर छ किसानले कसरी जीविकोपार्जन गर्ने ?’ उहाँले प्रश्न गर्नुभयो ।
स्टोर सञ्चालनमा आएपछि खेती शुरु गरेको बताउँदै स्टोर बन्द भएमा उत्पादित तरकारी तथा आलु भण्डारणमा समस्या हुने किसान प्यारेलाल चौधरीले बताउनुभयो ।
कोल्डस्टोरमा आलु, स्याउ, सुन्तला, अनार, अङ्गुर र बन्दागोपी राख्न मिल्ने सञ्चालक समितिका अध्यक्ष रावतले बताउनुभयो । विद्युत्को बिल भुक्तानी गर्न समस्या भएपछि यहाँ पटकपटक लाइन काटिने गरेकोे शेयर सदस्य राजेन्द्र देवकोटाले बताउनुभयो । यसरी विद्युत् काटिँदा किसानले राखेका उत्पादन बिग्रन सक्ने खतरा बढेको उहाँको भनाइ छ ।
‘किसानबाट उठेको ८ लाख रुपैयाँ बिजुलीको बिल तिरेका छौँ’ अध्यक्ष रावतले भन्नुभयो,– ‘बैंकले पनि चैत्र २० गते लिलामीका लागि बोलिसकेको छ । स्टोरलाई बचाउन किसानलाई नै शेयर जारी गर्ने अभियानमा लागेको छु ।’
प्रदेशकै ठूलो कोल्डस्टोरको संरक्षण गर्न प्रयास गरिरहेको घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताउनुभयो । घोडाघोडीको मात्रै नभई किसानको पहिचानसँगै सुदूरपश्चिमको अस्तित्वसँग जोडिएकाले अन्य पालिकासँग पनि सहयोगका लागि समन्वय भइरहेको उहाँको भनाइ छ । साथै प्रदेश सरकारसँग पनि यसका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री