
दाङ । अहिले गर्मीको मौसम छ । कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मसुरोलाई दाइँ लगाइ रहेका छन् भने कोही टाउकोमा बोकेर तोरी घरतर्फ ल्याइरहेका देखिन्छन् । अहिले यो दृश्य यहाँका खेतबारीमा काम गर्ने किसानको हो । उनीहरुलाई यतिबेला तोरी, गहुँ, मसुरो, चना लगायत हिउँदे बाली भित्र्याउन चटारो परेको छ ।
यसपटक दाङमा हिउँदमा खासै पानी परेन । अहिले खेतमा गहुँ, चना, मसुरो पाकेकाले काट्न सुरु गरिएको दङ्गीशरण गाउँपालिका–३ की ४२ वर्षीया मैती चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाली भित्र्याउने बेला पानी पर्छ कि भन्ने डरले चर्को गर्मीमा पनि बाली भित्र्याउने हतार छ । पानी परेर भिज्यो भने वर्षभरिको मेहनत खेर जान्छ ।” उहाँले दुई बिगा जमिनमा गहुँ, एक बिघामा हिउँदे तोरी, १० कठ्ठामा मसुरो र पाँच कठ्ठामा चना खेती गरेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीकी ४५ वर्षीया सरस्वती कुवँरले केहिले बादल, कहीले गर्मी भइराखेको भन्दै एक्कासी पानी प¥यो भने खेतबारीमा उत्पादन भएको अन्नबाली नष्ट हुने बताउनुभयो । पानी पर्यो भने बाली स्याहार्न समस्या होला भनेर दिनभरि खेतमा काम गरिरहेको उहाँले बताउनुभयो । ‘बाली भित्र्याउने बेलामा एक्कासी पानी प¥यो भने नोक्शानी हुन्छ । त्यसैले हतारमा बाली भित्र्याइरहेका छौँ’ उहाँले भन्नुभयो ।
केही दिनदेखि यहाँको मौसममा बदली भई बादल लाग्ने र घाम लाग्ने भइरहेको छ । हिउँदभरि स्याहार गरेर जोगाएको अन्न पानी परेपछि कुहिने हो की भन्ने डर रहेको तुलसीपुर–६ की प्रमिला चौधरीले बताउनुभयो । “हाम्रो छ महिनाको मेहिनत हो । पानी परे कुहिन्छ की भन्ने डर पनि छ”, उहाँले भन्नुभयो ।
दाङ तोरी उत्पादनका हिसाबले उत्तम जिल्ला मानिन्छ । जिल्लामा दुई सिजनमा तोरीखेती गरिँदै आइएको छ । करिब १७ हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने दाङमा वर्षेनी २५ हजार मेट्रिकटनको हाराहारीमा उत्पादन हुने गर्छ । जिल्लामा हाल दङ्गीशरण, शान्ति नगर र बवइलगायतमा तोरी उत्पादन हुने जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएकोछ ।
केन्द्रका अनुसार जिल्लामा १२ हजार हेक्टरमा गहुँ खेती हुँदा ३० हजार मेट्रिकटनको हाराहारीमा उत्पादन हुन्छ भने २७ हजार छ सय हेक्टर जमिनमा मसुरो खेती हुँदा २० हजार एक सय मेट्रिकटन उत्पादन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय