
डोटी । डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याजखेती गर्नुभएको छ ।
विसं २०६१ देखि कृषिकर्म गरिरहनुभएका ६१ वर्षीय महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गर्नुभएको थियो । कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप र बीउ पाएपछि यो वर्ष प्याजखेती विस्तार गरेको उहाँले बताउनुभयो ।
बीस रोपनी जमिनमा विभिन्न चरणमा चार किलो प्याजको बीउ रोपिएको महराले बताउनुभयो । “बीउ फरक–फरक समयमा राखेको थिएँ, त्यसरी नै फरक समयमा सबै जमिनमा प्याज रोपिएको हो । प्याज रोप्न ५५ दिन बराबर ज्यालामा स्थानीयलाई काम लगाएको छु, महराले भन्नुभयो ।” एक दिन काम गरेबापत एक जनालाई आठ किलो प्याज दिने सहमति भएको उहाँले बताउनुभयो । उहाँले सिजनमा २५ देखि ३५ रुपैयाँ प्रतिकिलो र बेसिजनमा ४५ देखि ८० रुपैयाँँ प्रतिकिलोका दरले प्याज बिक्री गर्दै आउनुभएको छ ।
प्याज उत्पादन गर्नुभन्दा पनि बिक्री गर्न समस्या हुने गरेको महरा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिजनमा भनेको मूल्य पाइँदैन, बेसिजनमा बेच्दा मूल्य पाइन्छ तर प्याज जोगाउन गाह्रो हुन्छ, प्याज भण्डारणका लागि कुनै व्यवस्था नहुँदा धेरैजसो प्याज बिग्रिएर जाने गरेको छ ।”
महराले यस वर्षदेखि प्याजको बीउ पनि उत्पादन गर्न सुरु गर्नुभएको छ । पहिलोपटक एक सय ५० गाना प्याज बीउँका लागि रोपिएका छन् । महराले गरेको प्याजखेती सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाकै नमूना रहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो ।
महराले गरेको प्याजखेतीबाट आफू प्रभावित भएपछि उहाँलाई प्रोत्साहनस्वरूप ज्ञान केन्द्रबाट बीउ र सात सय मिटर ३२ एमएमको सिँचाइ पाइप सहयोग गरिएको अवस्थीले बताउनुभयो । महराले प्याज रोपेको जमिनबाट करिब दुई क्विन्टल प्याज उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभएको छ । किसानले फलाएका प्याजको बजारीकरण गर्न व्यापारीसँग समन्वय गरिरहेको पनि अवस्थीले जानकारी दिनुभयो ।
यसैगरी, बोगटान फुड्सिल गाउँपालिका–१ का यम बमले १० रोपनी जमिनमा प्याजखेती गर्नुभएको छ । उहाँले काटैस्थित मौडामा प्याजखेती गरिरहेको बताउनुभयो । उषा बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म खोलेर कृषि पेशा गरिरहनुभएका बमले तीन वर्षदेखि प्याजखेती गर्न थाल्नुभएको हो । बमले थप ४० रोपनीमा प्याजखेती गर्ने सोच बनाएको बताउनुभयो ।
दिपायल सिलगढी नगरपालिका–२ पन्तोलाका ध्रुव मलासीले पनि प्याजखेती गर्नुभएको छ । उहाँले छ रोपनी जमिनमा प्याज र दुई रोपनीमा लसुन लगाएको राससलाई बताउनुभयो । लसुनप्याज बेचेर गर्जो टार्न सकिने भएकाले यसतर्फ आफू आकर्षित भएको उहाँले सुनाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न