
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकालाई जातीय छुवाछूतमुक्त बनाइने भएको छ ।
‘जातीय विभेद गर्न हुँदैन भनेर भाषण गरेर मात्रै समाजबाट छुवाछूत हट्दैन’ ऋषिङ गाउँपालिका–३ दुवुङस्थित मगर गुठ समाजका अध्यक्ष लालबहादुर आलेमगरले भन्नुभयो– ‘सबै जात एउटै हो भन्ने कुरा अब व्यवहारमै देखिनुपर्छ । बल्ल जातीय विभेद र छुवाछूतमुक्त समाज बनाउन सकिन्छ ।’
ऋषिङ गाउँपालिकाको कार्यालयले पालिकालाई जातीय विभेद र छुवाछूतमुक्त बनाउने अभियानमा गरिएको सुझाव सङ्कलनका क्रममा गुठी समाजका अध्यक्ष आलेमगरले आफूहरुले जातीय विभेद र छुवाछूतमुक्त समाज बनाउन गुठ समाजमा दलितहरु समेत मिसाएको बताउनुभयो । दुवुङमा रहेका ६५ घर मगरहरुसँगै छ घर दलितलाई समावेश गरेर मगर गुठ बनाइएको अध्यक्ष आलेमगरको भनाइ छ ।
जातीय विभेद र छुवाछूतमुक्त बनाउने अभियानका क्रममा वडा नम्बर १, २, ३, ४ र ५ मा सर्वपक्षीय कार्यक्रम गरिसकिएको पालिकाले जनाएको छ । अभियानका क्रममा दलित, शिक्षक, महिला, कर्मचारी, जनजातिलगायत सँग परामर्श, छलफल गरिएको छ ।
ऋषिङ–१ झापुटारमा वडाअध्यक्ष कुशबहादुर थापा, ऋषिङ–२ काहुँशिवपुरमा वडाअध्यक्ष दलबहादुर थापा, ऋषिङ–३ दुवुङमा वडाअध्यक्ष भीमबहादुर थापा, ऋषिङ–४ भिरकोटमा वडाअध्यक्ष प्रेमराज श्रेष्ठ र ऋषिङ–५ राम्जाकोटमा वडाअध्यक्ष बुद्धिमान रानामगरलगायत पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, पालिका उपाध्यक्ष गिनुमाया थापा र पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटलगायतले सहभागीबाट उठेका जिज्ञासाको समाधान र सुझावअनुसार आगामी कार्यक्रम तय गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनुभएको कार्यपालिका सदस्य दिलबहादुर नेपालीले बताउनुभयो ।
समाजको कलङ्कका रुपमा रहेको जातीय विभेद र छुवाछूतलाई हटाउन आफूहरुको साथ र सहयोग रहने ऋषिङ–१ झापुटारस्थित शुक्ला माविका प्रधानाध्यापक केशर थापामगरले बताउनुभयो । ‘ऋषिङ गाउँपालिकाको कार्यालयले छुवाछूत हटाउन गरेको कार्यक्रमलाई सकारात्मक रुपमा लिएको छु’ प्रधानाध्यापक थापामगरले भन्नुभयो– ‘वैज्ञानिक समाजमा पनि जातीय विभेद हामीले मान्ने कुरा हुँदैन । यसलाई हटाउन सबै जुट्न आवश्यक छ ।’
दलित समुदायलाई मात्रै भेला गरी कार्यक्रम गर्दा प्रभावकारी नहुने भएकाले दलित र गैरदलितसहितको कार्यक्रम गरी छुवाछूत र जातीय विभेद अन्त्य गर्न छलफल गरिएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । पालिकालाई पाँच वर्षभित्र छुवाछूत र जातीय विभेदमुक्त बनाउन विद्यालय, स्वास्थ्य संस्था र समुदायस्तरबाट अभियान व्यापक गर्ने गरी छलफल थालिएको पालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
आफू जहिल्यै ऋषिङको जनताको आवश्यकता र विकासको पक्षमा रहेकाले कहिल्यै ऋषिङको जनता र विकासप्रति धोका र घात नगर्न प्रतिवद्ध रहेको अध्यक्ष श्रेष्ठको प्रतिवद्धता छ । ‘जातीय विभेद र छुवाछूतलाई साथमा लिएर समृद्ध ऋषिङ गाउँपालिका बनाउन सकिने कुरा भएन’ अध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘त्यसैले सबै वडाबाट छुवाछूत र जातीय विभेदविरुद्धको अभियान थालेका हौँ ।’
अभियानका क्रममा शिक्षक, विद्यार्थी, युवा, महिला, दलित लगायत अपाङ्गता भएकाहरु, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिसँग समेत परामर्श गरिएको र सोही सल्लाह, सुझावअनुसार आगामी कार्यक्रम तय गरिने पालिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै