+

‘गुरु किसान’ कार्यक्रमले ल्यायो उत्साह

इलाम । रोङ गाउँपालिकामा ‘गुरु किसान’ कार्यक्रम शुरु भएको छ । दक्षताका आधारमा अग्रज किसान छनोट गर्ने र अन्य किसानलाई प्राविधिक सहयोग पुर्याउन गुरु किसान कार्यक्रम थालिएको हो ।

यो सङ्घीय सरकारकै कार्यक्रमअनुसार स्थानीय तहले सो कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताउनुभयो । अन्य स्थानीय तहमा यो कार्यक्रम लागू नभइसकेको अवस्थामा यस गाउँपालिकामा देशमा नै पहिलोपटक यो कार्यक्रमको शुरुवात भएको उहाँको भनाइ छ । 

गुणस्तरीय उत्पादन हुन नसक्दा नेपालमा उत्पादित कृषिजन्य वस्तु विदेश निर्यातमा समस्या भइरहेको भन्दै किसानलाई समेत गुणस्तरीय उत्पादनमा जोड दिन पनि यो कार्यक्रम शुरु भएको बताइएको छ । यस कार्यक्रमले किसानमा उत्साह जागृत भएको गाउँपालिकाले जनाएको छ ।

कृषि पेसाबाट नाफा बढी नभएका कारण पनि किसान पलायन हुँदै गएको भन्दै यो कार्यक्रम ल्याइएको गाउँपालिकाले बताएको छ । बजारको समस्या किसानको उत्पादनसँग जोडिएको हुनाले पनि यसका लागि किसानले गुणस्तरीय उत्पादनमा लाग्नुपर्ने गाउँपालिका अध्यक्ष स्याङ्बाले बताउनुभयो । उहाँले परिमाण, गुणस्तर र निरन्तरतामा निर्भर रहिरहनेसमेत बताउनुभयो । परिमाण, गुणस्तर र निरन्तरता लाई विशेष प्राथमिकतामा राखेर काम गर्ने किसान तयार गर्दै किसान सङ्ख्या थप गर्दै किसानलाई बजारको सुनिश्चित गर्ने प्रयासको शुरुवात भएको उहाँको भनाइ छ । 

कृषि पेसालाई व्यावसायिकरुपमा अघि बढाउन नेपालले उत्पादकत्व वृद्धिको अभियानमा जोड दिन जरुरी रहेको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रम स्थानीय तहले मात्र गरेर सम्भव नहुने भन्दै प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा सञ्चालन हुन आवश्यक रहेको अध्यक्ष स्याङ्बाको भनाइ छ । 

गुणस्तरीय उत्पादन निरन्तर भएमा माग बढ्ने र बजारको समस्या नहुने भन्दै त्यसका लागि गुरु किसान छनोट र परिचालन गर्न कार्यविधि ल्याइएको छ । कार्यविधिअनुसार सम्बन्धित किसान सोही गाउँपालिकाको हुनुपर्नेछ । कार्यविधिअनुसार कृषिलाई मुख्य पेसा बनाइ ५० प्रतिशत शारीरिक एवं मानसिकरुपमा समय दिनसक्ने किसानलाई यस कार्यक्रममा सहभागी गराइनेछ । 

नेपालको संविधान २०७२ को अनुसूची ८ को बुँदा नम्ब्र १५ साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिछेद ३ को उपदफा (ण) सम्बन्धित रहेर गुरु किसान कार्यविधि २०८० जारी गरिएको हो ।

सबै ठाउँमा दक्ष प्राविधिक खटाउन नसक्दा कृषि पेसा अँगालेका धेरै किसानले प्राविधिक ज्ञान पाउन नसकेको र कृषि पेसाबाट पलायन भएकाले कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो । ‘कृषि पेसालाई सम्मानित पेसा बनाउन गुणस्तरीय उत्पादनमा उहाँहरुले पनि जोड दिनुपर्छ’ गाउँपालिका अध्यक्ष स्याङ्बोले बताउनुभयो । उत्पादकत्व वृद्धि भएपछि मात्र किसान समृद्ध हुने र सिङ्गो गाउँपालिकासमेत सम्पन्न हुने उहाँको भनाइ छ ।

गाउँपालिकाले गुरु किसानलाई आर्थिक एवं प्राविधिक सहयोग गर्ने जनाइएको छ । गुरु किसान घोषणा गरेर अन्य किसानमाझ खटाउँदा कृषि पेसामा रहेका किसानहरुलाई समेत आत्मसम्मानसहित कृषिलाई निरन्तरता दिन हौसला प्राप्त हुनेछ । साथै अन्य किसानसमक्ष ज्ञान बाँड्न खटाउँदा कृषि पेसामा लाग्दै गरेका नयाँ किसानलाई समेत हौसला प्राप्त हुने बताइएको छ । 

किसानले व्यावहारिक ज्ञान पाउने भएपछि मौसमअनुसारका कृषिउपजसमेत उत्पादनमा सहज हुने अपेक्षा लिइएको छ । समय र वातावरण सुहाउँदो बाली लगाउन र मौसमअनुसारकै उत्पादन एवं बेमौसमीखेतीतर्फ समेत किसानको आकर्षण बढ्नेछ । कृषि पेसालाई आधुनिकीकरण गराउँदै निर्वाहमुखी र व्यावसायिक कृषि उत्पादनमा जोड दिन यो कार्यक्रमले मद्दत पु¥याउने अपेक्षा लिइएको छ । 

कृषिमा आत्मनिर्भर हुँदै व्यावसायिक कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको यस गाउँपालिकाले कृषि पेशालाई सम्मानित पेसा बनाउन यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रमले वैदेशिक रोजगारीमा जानैपर्छ भन्ने मान्यताको अन्त्य गरी स्वदेशमा नै केही गर्न चाहने युवालाई आत्मनिर्भरको बाटो खुल्ने विश्वास गरिएको छ । 

गाउँपालिकास्तरीय छनोट एवं सिफारिस समिति गठन गरिनेछ र सो समितिले पशुपालन र कृषिमा रहेर काम गरिरहेका अग्रणी किसान छनोट गर्ने र उनीहरुले अन्य किसान समक्ष उनीहरुको दक्षता बाँड्नेछन् । कृषिमा लागेका गाउँपालिकाका बासिन्दालाई तालिम, गोष्ठी, व्यवसाय परामर्श, व्यावसायिक योजना, आधुनिक औजार खरिदमा समेत यो कार्यक्रमले मद्दत गर्नेछ । 

गाउँपालिकाले गुरु किसान छनोट तथा परिचालन निर्देशक समिति गठन गरेर काम अगाडि बढाएको छ । समितिमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक विकास समिति संयोजक, कार्यपालिका महिला समितिबाट दुईजना र कृषि विकास शाखा प्रमुख सदस्य–सचिव रहनेछन् । समितिले किसान तथा गुरु किसानलाई परामर्शसहित काम गर्न निर्देशन दिनेछ । समितिले अनुगमन तथा सहयोगका लागि सिफारिस समेत गर्ने बताइएको छ । 

यो गाउँपालिका कृषि उत्पादनका दृष्टिले जिल्लाकै अग्रणी पालिका मानिन्छ । यहाँ उत्पादित कृषिजन्य वस्तु झापाका विभिन्न बजार हुँदै इटहरी, विराटनगर, काठमाडौँलगायतका स्थानमा समेत बिक्रीवितरण हुने गरेको छ । कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको यो गाउँपालिकाले गुन्द्रुकको ब्रान्डिङ, मह, सिस्नोको उत्पादन तथा ब्राण्डिङ लगायतमा सफलता समेत प्राप्त गरिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै