+

चिस्यान केन्द्र बनेपछि आलु भण्डारणमा सहज

तनहुँ । म्याग्दे गाउँपालिकामा निर्माण सम्पन्न भएको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको भण्डारण गरी उचित मूल्यमा बिक्रीवितरण गर्ने उद्देश्यसहित गत वर्ष माघमा निर्माण थालिएको चिस्यान केन्द्र सम्पन्न भएर बिहीबारदेखि सञ्चालनमा आएको हो ।

म्याग्दे गाउँपालिका–३ बिरुवामा चिस्यान केन्द्र निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चिस्यान केन्द्र निर्माणका लागि गत वर्षको पुस १ गते पासा कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो । 

एक करोड ४७ लाख ४ हजार ६ सय ४७ रुपैयाँमा चिस्यान केन्द्र निर्माण गरिएको हो । दुईतले भवन एक सय ९५ दशमलव ८५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । चिस्यान केन्द्रमा कृषकले उत्पादन गरेका आलु, फलफूल, तरकारी लगायतका वस्तु राखिनेछ ।

अधिकारीले भन्नुभयो– ‘कृषिजन्य वस्तु भण्डारणका लागि चिस्यान केन्द्रले सहयोग पुग्नेछ, त्यसका कारण कृषकले उचित मूल्य पाउनेछन्, अधिकारीका अनुसार चिस्यान केन्द्रको क्षमता दुई सय मेट्रिकटन रहेको छ ।’

चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव रुक्मिता घिमिरेले चिस्यान केन्द्रमा भण्डारणका लागि प्रतिकिलो १० रुपैयाँ शुल्क कायम गरिएको छ । गाउँपालिकाभित्रका कृषकलाई भने ५० प्रतिशत अनुदान दिइनेछ । उहाँले भन्नुभयो– ‘चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिले भण्डारणका लागि शुल्क निर्धारण गरेको छ, चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका कृषकलाई प्रतिकिलो ५ रुपैयाँ मात्रै शुल्क लाग्नेछ ।’

घिमिरेले कृषकलाई वडाका टोल विकास संस्थामार्फत एकमुष्ठ आलु सङ्कलन गरी चिस्यान केन्द्रमा भण्डारण गर्न सूचित गरिएको जानकारी दिनुभयो । आलु सङ्कलन गर्दा प्रत्येक बोरा ५० किलोको हुनुपर्ने निर्णय गरिएको उहाँको भनाइ छ । 

घिमिरेका अनुसार बोरामा सङ्कलन गरिएका आलु कम्तीमा खनेको १५ दिनपछिको र बोक्रा बाक्लो भएको हुनुपर्नेछ ।  टोलविकास संस्थामार्फत आउँदा किसानले आफूले चिन्ने गरी बोरामा सङ्केत नाम राख्नुपर्नेछ ।

म्याग्देले समृद्ध गाउँपालिका निर्माणका लागि कृषिलाई प्राथमिकतामा राखेको छ । कृषकले कृषिजन्य वस्तु उत्पादन गर्ने तर समयमा बिक्री हुन नसक्दा समस्या हुँदै आएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । ‘यो समस्या समाधानका लागि चिस्यान केन्द्र अतिआवश्यक थियो, यसले गर्दा कृषकले उचित मूल्य पाउनेछन्’ श्रेष्ठले भन्नुभयो । 

उत्पादित वस्तु समयमा बेच्न नसक्ने हुँदा सड्ने र वस्तु घाटामा बेच्नुपर्दा व्यवसायमा असर पर्ने देखिएकाले गर्दा चिस्यान केन्द्रमार्फत वस्तुको भण्डारण गरिने श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषकलाई उत्पादनमा प्रेरित गर्ने वस्तुको बजारीकरणमा सहयोग गर्ने गरी पालिका अगाडि बढेको छ, चिस्यान केन्द्र सञ्चालनपछि कृषक आफैँले उत्पादित वस्तुको भण्डारण र बिक्री गरी आयआर्जन गर्न सक्नेछन् ।’

म्याग्दे गाउँपालिकाका कृषक केही वर्षयता सामूहिक आलुखेतीतर्फ आकर्षित छन् । विगतमा धान, मकै, गहुँजस्ता अन्नबाली लगाइने ठूला फाँटमा कृषकले अहिले सामूहिकरुपमा आलुखेती गरिरहेका छन् ।

यसअघि केही कृषकले निर्वाहमुखीरुपमा मात्र आलुखेती गर्ने गरेकामा गाउँपालिकाले व्यावसायिक आलुखेती गर्न प्रोत्साहन गरेपछि कृषक सामूहिकरुपमा आलुखेतीतर्फ आकर्षित भएका हुन् । 

विगतका वर्षमा व्यक्तिगतरुपले निर्वाहमुखीरुपले मात्र आलुखेती गर्दै आएकामा गाउँपालिकाले आलुखेतीमा अनुदान दिन थालेपछि समूह बनाएर आलुखेती गरिएको कृषक लक्ष्मी भण्डारीले बताउनुभयो । चिस्यान केन्द्रको अभावमा विगतमा आलु कुहिएर जाने समस्या रहेको जनाउँदै उहाँले अब चिस्यान केन्द्र सञ्चालनमा आएपछि सहज हुने बताउनुभयो । 

गाउँपालिकाको साँगे, रानीटारी, थर्पु, पयर, धयरे, छाङपाटन, पीपलडिही लगायतका क्षेत्रमा सामूहिक आलुखेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै