
भोजपुर । रामप्रसादराई गाउँपालिका–६ स्थित वैकुन्ठेमा ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ । व्यावसायिक सुन्तला तथा फलफूलखेतीमा लागेका किसानलाई खेती प्रविधिको विषयमा अभ्यासमूलक सीप दिन यहाँ सिकाइ केन्द्र स्थापना गरिएको हो ।
वैकुन्ठे क्षेत्र सुन्तलासँगै फलफूलखेतीका लागि उपयुक्त रहेकाले वडाले बजेट विनियोजन गरेर सिकाइ केन्द्र स्थापना गरेको रामप्रसादराई–६ का वडाध्यक्ष एकराज आचर्यले बताउनुभयो । किसानलाई बाहिरका बिरुवाभन्दा पनि यहीको हावापानी, भूगोल, माटो सुहाउँदो सुन्तलाका बिरुवा उत्पादन गर्ने लक्ष्यले नर्सरी स्थापना गरिएको वडाध्यक्ष आयर्चले बताउनुभयो । गत आर्थिक वर्षमा वडाले एक लाख ५० हजार रुपैयाँँ विनियोजन गरेर केन्द्र स्थापना गरेको उहाँको भनाइ छ ।
‘वैकुन्ठेका अधिकांश किसानले व्यावसायिक सुन्तलासँगै फलफूलखेती गरिरहेका छन्’ वडाध्यक्ष आचार्यले भन्नुभयो– ‘कतिपय किसानलाई सुन्तला तथा फलफूलखेतीसम्बन्धी सामान्य जानकारी नहुँदा समस्या पनि देखिन्छ । किसानलाई सुन्तला, कागती लगायत खेती प्रणालीको विषयमा प्रयोगात्मक रूपमा जानकारी दिन सिकाइ केन्द्र स्थापना गरेका हौँ ।’
केन्द्रमा किसानको सक्रियतामा सुन्तला नर्सरी समेत स्थापना गरिएको छ । दुईवटा टनेलमा सुन्तलाका बिरुवा उत्पादन गरिएको स्थानीय राजेन्द्रकुमार राईले बताउनुभयो । नर्सरीमा उत्पादन भएका बिरुवा किसानलाई वितरण गरिने उहाँको भनाइ छ । आफ्नै ठाउँमा सिकाइ केन्द्रबाट सुन्तलासँगै फलफूलखेतीको विषयमा आवश्यक प्राविधिक ज्ञान लिन सहज भएको उहाँले बताउनुभयो ।
‘सिकाइ केन्द्रमार्फत हामीले सुन्तलाका बिरुवा पनि उत्पादन गरेका छौँ’ उहाँले भन्नुभयो– ‘हामीले कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा खेती प्रविधिको विषयमा जानकारी लिन पाएका छौँ । सुन्तला, कागतीमा रोग, कीरा देखिएमा कसरी निराकरण गर्ने भन्ने पनि सिक्ने अवसर पाएका छौँ । सिकाइ केन्द्रबाट अभ्यासमूलक ज्ञान लिन सहज छ ।’
सिकाइ केन्द्रका माध्यमबाट किसानलाई खेती प्रविधिको विषयमा जानकारी दिने कार्य भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख धिरज ठाकुरले बताउनुभयो । किसानलाई सिकाइ केन्द्रमा बोलाएर अभ्यास गराएर नै खेती प्रविधिका बारेमा जानकारी दिने गरिएको उहाँको भनाइ छ ।
‘किसानलाई बढी मात्रामा लाग्ने रोग, कीरा प्रकोप र खेती प्रविधिका बारेमा जानकारी दिन्छौँ’ उहाँले भन्नुभयो, ‘एकसाथ अभ्यास गराएर सिकाइने भएकाले कार्यक्रम किसानका लागि उपयुक्त देखिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै