
तनहुँ । पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ वर्ष २०८२ को पहिलो दिन खुला उकालो दौड प्रतियोगिता हुने भएको छ ।
शुक्लागण्डकी नगरपालिका–२ स्थित अन्नपूर्ण युवा क्लब कोत्रेको आयोजनामा ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ हुन लागेको हो ।
खेलकुदका माध्यमबाट भुजिकोटसँगै समग्र वडामा पर्यटकीय गतिविधि सञ्चालन गर्न प्रतियोगिताको आयोजना गरिएको क्लबका पूर्वअध्यक्ष एवं कार्यक्रमका संयोजक खेम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा १८ देखि ४५ वर्ष उमेर समूहका महिला र पुरुष सहभागी हुन पाउनेछन् ।
पर्यटकीय क्षेत्र भुजिकोट, स्थानथोकसहित यहाँ रहेका पुराना सांस्कृतिक बस्ती, आदिवासी समुदायको संस्कृति, घरवास कार्यक्रम, ऐतिहासिकस्थलको अवलोकन र दृश्यावलोकनमार्फत यस क्षेत्रको प्रचार गर्न प्रतियोगिता सफल हुने संयोजक गुरुङको विश्वास रहेको छ । दौड प्रतियोगिताका साथै गुलेली हान्ने, कुखुराको भाले समाउने र सांस्कृतिक प्रस्तुति प्रदर्शन लगायतका कार्यक्रम सञ्चालन गरिने क्लबका अध्यक्ष अनिल खनालले बताउनुभयो ।
देशभरका २ सय धावक सहभागी हुने आयोजकको अपेक्षा छ । उहाँले प्रतियोगितामा उत्कृष्ट २० जनासम्मलाई मेडलमार्फत सम्मान गरिने बताउनुभयो । कार्यक्रमका प्रवक्ता तीर्थराज खनालले प्रतियोगितामा सहभागी भई विजेता हुने धावकलाई नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रथमसहित पाँचौँसम्मका धावकलाई क्रमशः ३३ हजार ३३३, २२ हजार २२२, ११ हजार १११, पाँच हजार ५५५ र तीन हजार ३३३ रुपैयाँसहित सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।
कोत्रेचोकदेखि स्थानथोकसम्मको ९ किलोमिटरको दूरीमा प्रतियोगिता हुने जनाउँदै प्रवक्ता खनालले धावकको नाम दर्ताका लागि २ सय ५० रुपैयाँ शुल्क लाग्ने बताउनुभयो । उहाँले प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपैयाँ लागत अनुमान गरिएको जनाउनुभयो ।
क्लबले यसअघि २०७५ मा पनि भुजिकोट उकालो दौड प्रतियोगिता सञ्चालन गरेको थियो । कोरोना महामारीलगायत विभिन्न कारणले रोकिएको प्रतियोगितालाई अब वर्षेनी निरन्तरता दिइने क्लबले जनाएको छ ।
शुक्लागण्डकी–२ भुजिकोट–स्थानथोकबाट पोखराका तालतलैयादेखि हिमालयका सुन्दर दृश्य, विभिन्न जिल्लाका दृश्यावलोकन, राष्ट्रिय फूल लालीगुराँसको अवलोकनका साथै रमणीय ग्रामीण परिवेश हेर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै