
महोत्तरी । नयाँ वर्ष २०८२ आउन केही दिन बाँकी छँदै मधेस प्रदेशका जिल्लामा ‘जुडशीतल’ पर्वको चहलपहल शुरु भएको छ ।
महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा त्यसका लागि सरसामान जुटाउन थालिएको छ । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा ‘जुडशीतल’ पर्व मनाइने मैथिल परम्परा छ । विभिन्न परिकार खाने र ख्वाइने यो पर्वमा खाद्य सामग्रीको जोहोसँगै हिलोधुलो खेलेर रमाइलो गरिन्छ । यहाँ आगामी सोमबार र मङ्गलबार यो पर्व मनाइने छ ।
मिथिलामा वैशाख सङ्क्रान्तिका दिनदेखि भोलिपल्टसम्म दुई दिन ‘जुडशीतल’ पर्व मनाउने चलन छ । सङ्क्रान्तिको पहिलो दिनलाई ‘सतुवाइन’ र भोलिपल्ट अर्थात् वैशाख २ गतेलाई ‘जुडशीतल’ भनिन्छ । पहिलो दिनलाई ‘सतुवाइन’ भनिए पनि दुवै दिन ‘जुडशीतल’ पर्वकै दिन मानिन्छन् । पहिलो दिन चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरी खाद्यान्नको सातु तथा माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरिन्छ । बढ्दो गर्मीमा शीतलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको हो ।
यसैगरी, दोस्रो दिन (वैशाख–२ गते) घरपरिवारमा आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने चलन छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । यसैगरी, गुणकारी सोहिजन (मुन्गा) को तरकारी, चनाको पीठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढी–बरी’ (बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार), काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका खास परिकार मानिन्छन् । मिथिलामा घरका कूलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये ‘जुडशीतल’ पनि एक हो । यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवता (कूलदेवता) लाई चढाउने परम्परा छ ।
पर्व नजिकिँदै गर्दा मिथिलानी आ–आफ्ना घरआँगन सरसफाइ र लिपपोतमा लागेका छन् । गोसाइँघर (कूलदेवता राखिने घर वा कोठा) को सरसफाइ र लिपपोत पर्वको विशेष तयारीभित्रै पर्छ । यसैगरी पर्वका खाद्य सामग्री जुटाउने कार्यमा स्थानीयको व्यस्तता छ । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्र दास वैष्णव बताउनुहुन्छ ।
सहकाल (सन्तुलित वर्षा) को प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिल दोस्रो दिन समवयीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने गर्छन् । किशोर र युवाका लागि पर्वको यो विशेष आकर्षण रहँदै आएको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) मटिहानी–७ का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिको भनाइ छ । नयाँ वर्षको प्रारम्भमै हिलोधुलो हुन पाए वर्षभरि कहिल्यै कृषि कार्यमा प्रतिकूलता नहुने जनविश्वास छ ।
‘जुडशीतल’ पर्वमा आफ्ना खेतबारीका रूखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । धुलो र हिलो माटो छ्यापाछ्याप गर्नु पनि कृषि कार्यमा कहिल्यै प्रतिकूलता खेप्नु नपरोस् भन्ने कामना नै रहेको भङ्गाहा–३ का ८५ वर्षीय तेजनारायण सिंह थारू बताउनुहुन्छ ।
मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय