
नवलपुर । विनयी त्रिवेणी गाउँपालिकाभित्र पर्ने वडा नम्बर ६ र ७ का स्थानीयले बाटोका कारण सास्ती खेप्दै आएका छन् । सिधा बाटो नहुँदा त्यस क्षेत्रका बासिन्दा घण्टौँ लगाएर पालिका कार्यालय र जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।
सङ्घीयतासँगै प्रदेश निर्माण हुँदा त्रिवेणी क्षेत्रका दुई बाटोलाई गण्डकी प्रदेशमा राखियो । गण्डकी प्रदेशलाई भारतसँग जोड्ने नाकाका रूपमा त्रिवेणी क्षेत्रलाई समेट्दा त्यस क्षेत्रका बासिन्दाले हाल समस्या भोग्दै आएका छन् । त्रिवेणी क्षेत्रका बासिन्दा अहिले सदरमुकाम पुग्न ८० किलोमिटर टाढा पुग्नुपर्छ । पालिका कार्यालय ४० किलोमिटर टाढा छ ।
‘सरकारले रणनीतिक रूपमा नाकाका लागि त्रिवेणीलाई समेट्यो, तर यहाँका बासिन्दाको दुःख नदेखेजस्तै गरेको छ’ त्रिवेणीका स्थानीय चिरञ्जीवी ढुङ्गानाले भन्नुभयो– ‘लुम्बिनी प्रदेशको बाटो हुँदै पालिका कार्यालय घण्टौँ लगाएर पुग्नुपर्ने दुःख छ ।’
गण्डकी प्रदेश सरकारले कोरला–त्रिवेणी सडक निर्माणलाई प्रदेश गौरवको योजनामा राख्दै प्राथमिकता दिएको छ । तर यसै खण्डमा पर्ने दुम्किबास–त्रिवेणी सडक निर्माणमा कुनै चासो नदिएको ढुङ्गानाले बताउनुभयो । दुम्किबास–त्रिवेणी सडक निर्माण नगर्ने हो भने आफूहरूलाई गण्डकी प्रदेशबाट छुट्याएर लुम्बिनीमा राख्नुपर्ने यहाँका बासिन्दाको माग छ ।
स्थानीय योगिता सहनीले भन्नुभयो– ‘यतिका वर्षसम्म बाटो खुल्ला भन्ने आशामा बित्यो, बाटो खुले पालिका पुग्न र नवलपुरको सदरमुकाम पुग्न सहज हुने थियो, यो दुःख त्रिवेणीवासीले सधैँ भोगिरहन सक्दैनन् ।’
त्रिवेणी क्षेत्रका बासिन्दा अहिले बर्दघाट, दाउन्ने हुँदै करिब ४० किलोमिटर पार गरी पालिका कार्यालय आउने गरेका छन् । सदरमुकाम झनै टाढा छ । सदरमुकाममा केही काम लिएर गए दिन बित्ने गरेको सहनीले बताउनुभयो । ‘अहिले कुनै काम लिएर नवलपुरको सदरमुकाम पुग्दा दिन जान्छ, खर्च उस्तै हुन्छ, यताको प्रदेशमा भएको भए परासी एक छिनमा पुगिन्थ्यो’ उहाँले भन्नुभयो । त्रिवेणीलाई गण्डकी प्रदेशमै राख्ने हो भने दुम्किबास–त्रिवेणी सडक तत्काल खोल्नुपर्ने स्थानीयको माग छ ।
त्रिवेणी–दुम्किबास सडक खोल्ने विषय गाउँपालिकाले पटकपटक उठाउने गरेको अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । त्रिवेणी क्षेत्रका स्थानीयको सहजता, समग्र पालिका र प्रदेशको आर्थिक विकाससँग त्रिवेणी–दुम्किबास सडक जोडिएकाले यसलाई खुलाउने विषयमा प्रदेश र सङ्घीय सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।
नवलपुरको दुम्किबासबाट बगुवन हुँदै त्रिवेणीसम्म १९ किलोमिटर दूरी पर्छ । बगुवनसम्म यातायातका साधन सञ्चालन हुने गर्छन् । बगुवनबाट त्रिवेणीसम्म १६ किलोमिटर पर्छ । यसमा करिब सात किलोमिटर क्षेत्रमा निकुञ्जले आफ्नो क्षेत्र दाबी गर्दै आएको छ । स्थानीयले भने मध्यवर्ती क्षेत्र पर्ने र पुरानो हुलाकी सडक भएको बताउने गरेका छन् ।
दुम्किबास–त्रिवेणी खण्ड २०५९ सालअघि हुलाकी सडकका रूपमा रहेकामा यस खण्डमा २०६३ सालमा सडकको मर्मत गरी यातायात सञ्चालन गरिएको थियो । हुलाकी सडकका रूपमा रहेको यस खण्डलाई गजेन्द्र मोक्ष जनता मार्ग नामकरण गरी २०६३ साल असोजदेखि यातायातका साधन सञ्चालन गरिएका थिए ।
विसं २०६४ जेठमा निकुञ्जले वन्यजन्तु चरिचरन क्षेत्र भनेर समेटेपछि यातायात सञ्चालनमा रोक लगाइएको स्थानीय बताउँछन् । अहिले त्यो सडक सञ्चालन गर्न निकुञ्ज बाधक हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय