
सर्लाही। यहाँको बागमती नगरपालिका–५, टेकानीका दलबहादुर लुङ्गेलीलाई हिजोआज तरूल खन्न भ्याइनभ्याइ छ । उहाँले बागमती बगरमा पाँच कट्ठा खेतमा तरूल लगाउनुभएको छ ।
चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाइने भएकाले पुसको तेस्रो सातासम्म तरूल बेचिसक्ने उहाँको योजना छ । “तरूलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ”, उहाँले भन्नुभयो, ‘‘त्यसकारण पुस २५/२६ सम्म बेचिसक्ने योजना छ ।” तरूल स्वस्थ्यका दृष्टिले चिसो मौसममा उपयोगी मानिने भएकाले यसबेला मूल्य बढ्ने गरेको छ ।
दलबहादुरझैँ यहाँका किसानहरुलाई माघेसङ्क्रान्ति नजिकिएसँगै तरूल खन्न भ्याइनभ्याइ छ । बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरूल खेती गर्ने गरेका छन् । बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरूल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हिरालाल मण्डलको भनाइ छ । “बगरको खेती सुन जस्तै बनेको छ”, उहाँले भन्नुभयो, “तरूल उत्पादनबाट मनग्य आम्दनी हुन्छ ।”
तरूलखेती गर्नु भएका बागमती नगरपालिका–४ जिराएतका किसान विमल खड्काले तरूलको उत्पादन राम्रो हुँदा अन्य बालीभन्दा धेरै आम्दानी हुने गरेको बताउनुभयो । खड्काले पनि एक बिघामा तरूल लगाउनुभएको छ ।
यहाँका किसानले आकाशे र पत्ताले गरी दुई जातको तरूल उत्पादन गर्ने गरेका छन् । आकाशे अर्थात् सेतो तरूल कम स्वादिलो हुने धेरै उत्पादन हुने तथा मूल्य केही कम हुने गरेको बागमती–४, जिरायतका तरूल व्यापारी राम दरेस महतोले बताउनुभयो । अर्को पत्ताले अर्थात् रातो जातको तरूल भने, उत्पादन कम हुने, खान स्वादिलो हुने भएकाले मूल्यसमेत महङ्गो उहाँको भनाइ छ ।
यहाँका किसानले प्रतिबिघा ८० देखि एक सय २० क्विन्टलसम्म तरूल फलाउने गरेका छन् । यस वर्ष छठको समयमा तरूल प्रतिकिलो एक सय २० रूपैयाँसम्ममा बिक्री भएको थियो । हाल बजार मूल्य प्रति किलो ५५ देखि ६० रूपैयाँ रहेको तरूल व्यापारी डम्बरबहादुर खड्काले बताउनुभयो । यस वर्ष व्यापारी खड्का २० बिघाको तरूल बजार लैजाने तयारीमा हुनुहुन्छ ।
उहाँले आफ्नो र भाडामा गरी २० बिघा बढी खेतमा तरूल लगाउनुभएको छ । जग्गा भाडामा लिँदा वर्षको प्रतिबिघा ५० देखि ६० हजार रूपैयाँसम्म तिर्नुपर्ने उहाँले बताउनुभयो । तरूलखेती गर्दा प्रतिकट्ठा बीउ, मल खाद, कामदार गरी रू आठ हजारसम्म खर्च हुने उहाँको भनाइ छ । तरूलखेतीबाट किसानले प्रतिकट्ठा रू ३० देखि ४० हजारसम्म आम्दानी गर्ने गरेका छन् ।
बागमती नगरपालिका कृषि शाखाका अनुसार यस क्षेत्रमा बर्सेनि तीन सय बिघा क्षेत्रफलमा तरूलखेती हुँदै आएको छ । सिँचाइ हुने खेतमा पानी जम्ने जोखिम रहेकाले तरूल उत्पादनका लागि बगर खेत उपयुक्त हुने कृषि प्राविधिक बताउँछन् । त्यसकारण बागमती नदी उकास जग्गा तरूल उत्पादनका लागि निकै उपयोगी बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल