
रुपन्देही । रोहिणी गाउँपालिका–३ धकधइका सोहन कोहारलाई हाल माटोको पाला बनाउन भ्याइनभ्याइ छ । परिवारमा सोहन र मोहन दुई दाजुभाइ हुनुहुन्छ । बुवा राधे कोहारको मृत्युपछि हाल यी दाजुभाइले पुख्र्यौली पेशा सम्हारिरहनुभएको छ । बुवा व्यावसायिक हुन नसके पनि यी दाजुभाइले पुख्र्यौली पेशालाई व्यावसायिक बनाउनुभएको छ ।
तिहार आउन तीन मात्र बाँकी हुँदा दुवै भाइलाई बत्ती बाल्न प्रयोग हुने माटोको पाला बनाउन र त्यसलाई बिक्री गर्न भ्याइनभ्याइ छ । माग र लगन दुवै उत्तिकै भए पनि यही पेशाले चार जनाको परिवार पाल्दै आएका मोहनले माटो, दाउरा लगायत आवश्यक सामान नपाइँदा समस्या भइरहेको बताउभयो । परासी, बुटवल, भैरहवा, खैरेनी र स्थानीय बजारमा पालाको माग रहेको उहाँको भनाइ छ । रूपन्देहीको धकधईमा यो पेशा गर्दै आएका करिब ३० परिवार छन् ।
तिहारलाई उज्यालो पर्वको रूपमा लिइने हुँदा दिपावली पनि भन्ने गरिन्छ । तिहारमा माटोको पालामा बत्तीबाल्ने पुरानो चलन अझै पनि कायमै छ । यद्यपि पालामा तेल हालेर बत्ती बाल्ने प्रचलनलाई आधुनिकतासँगै आएको विद्युतीय बत्तीले प्रभाव पारेको छ ।
मोहन र सोहनलाई मात्रै होइन अन्य समयभन्दा तिहारका समयमा अत्यधिक बिक्री हुने भएकाले धकधई गाउँका सबैजसो घरपरिवारलाई पाला बनाउन नभ्याइनभ्याइ छ । ४५ वर्षीय बैजनाथ कोहारको पनि यस वर्षको तिहारमा साना ठूला गरी ५० हजार पाला बिक्री गर्ने लक्ष्य छ । उहाँ भन्नुहुन्छ– ‘अन्य समयभन्दा हामी अहिले बढी व्यस्त छौँ, दुई महिनादेखि नै पाला बनाउन लागेका छौँ, यो हाम्रा लागि उपयुक्त समय हो । तीन पुस्तादेखिको यो पेसालाई मैले पनि निरन्तरता दिदैँ आएको छु ।’
विसं २०५५ देखि बैजनाथले निरन्तर माटोको पाला लगायतका अन्य सामग्री बनाउदै आउनुभएको छ । सामान बनाउन सके बिक्री गर्न त्यति गाह्रो नभएको उहाँको अनुभव छ । ‘पहिला पोखरासम्म पालालगायतका सामान जान्थ्यो, अहिले यही स्थानीय बजार भैरहवा, बुटवल, मणिग्राम, परासी लगायतबाट व्यापारी आएर लैजान्छन् । मेहनत बढी छ, कमाइ कम छ तर खुशी छौँ’ यही पाला बनाएर जीविकोपार्जन भएको छ’ बैजनाथले भन्नुभयो– ‘ पेसा बचाउन र निरन्तरताको लागि सरकारबाट पनि केही सहयोग भए राम्रो हुन्थ्यो । अहिलेसम्म कुनै सहयोग पाएका छैनौँ । कम्तीमा विद्युत् मोटरबाट चल्ने एउटा चक्की सहयोग गरिदिएको भए राम्रो हुने थियो ।’
त्यही गाउँका मनोहरप्रसाद कोहारले पाला बनाई बिक्री गर्न लागेको २५ वर्ष भयो । उहाँलाई सानो पाला सय कडा ५ रुपैयाँ र ठूलो पाला २५ पैसा प्रतिगोटामा बिक्री गरेको स्मरण छ । अहिले सानो पाला ३० रुपैयाँ दर्जन र ठूलो पालाको मूल्य १० रुपैयाँ गोटा पुगेको छ । हाल उहाँलाई पनि पाला बनाउन भ्याइनभ्याइ छ । ‘पालामा बत्ती बाल्ने प्रचलन अझै कायमै छ, त्यसैले अन्य समयमा हामीले राम्रो कारोबार गर्न नसके पनि तिहारको बेला ठिकै छ । यो पेशाबाट पाँच जनाको परिवारको गुजारा चलेको छ ।’ यस पटकको तिहारमा ८० हजार रुपैयाँभन्दा बढीको पाला बिक्री गर्ने आफ्नो लक्ष्य रहेको उहाँले सुनाउनुभयो । मनोहरले नयाँ पुस्तामा पेशा हस्तान्तरणमा गर्नका लागि स्थानीय तहबाट सहयोग, तालिमको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।
पाला लगायत माटाका अन्य सामान बनाउन प्रयोग हुने माटो एक ट्रालिकै ३ हजार रुपैयाँसम्म पर्दछ । दाउरा पाउन पनि समस्या नै छ । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले अबको वार्षिक कार्ययोजनामा यो विषयमा ध्यान दिई पेशा संरक्षणका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले यस्ता पराम्परागत पेसालाई जोगाउन गाउँपालिकाले कार्ययोजना बनाइ आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो ।
माटोका पाला लगायतका अन्य सामान बनाउने पेशामा आश्रित कोहार समुदाय आफूहरूलाई बजारभन्दा पनि माटोको वस्तु बनाउने परम्परागत चक्कीको साटो विद्युतीय मोटर, माटोमा अनुदान र तालिम प्रदान गरे यो पेशा सुरक्षित हुनुका साथै पुस्तान्तरणमा समेत सहयोग पुग्ने बताउछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित