
दमौली । मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल थालिएको छ । तनहुँको ऋषिङ गाउँपालिका–६ स्थित डुकुडाँडा लाफा युवा क्लब र जय दुर्गा आमा समूहले झामरे नाच उत्थान र संरक्षणका लागि पहल गरेका हुन् ।
अहिलेका पुस्ताले झामरे नाच बिर्संदै गएकाले लोप हुने खतरा बढेपछि यसको संरक्षणको पहल गरिएको युवा क्लबका संयोजक दानबहादुर आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका पुस्तालाई पुरानो संस्कृतिप्रति कम चासो हुन्छ । त्यसले गर्दा हाम्रो यो नाच नै लोप हुने हो कि भन्ने चिन्ता लागिरहन्छ । त्यसैले गर्दा यसको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्य राखेका छौँ ।”
पछिल्लो केही वर्षयता युवा क्लबकै सक्रियतामा झामरे नाच संरक्षणका लागि पहल थालिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसलाई जीवन्त राख्दै नयाँ पुस्तालाई सिकाउनुपर्छ भनेर लागिपरेका छौँ । अहिलेका पुस्ता पनि यसमा आकर्षित छन् ।”
झामरे नाच मगर समुदायको मौलिक नृत्य हो । आधुनिक संस्कृतिको प्रभावका कारण मौलिक संस्कृति लोप हुन थालेको स्थानीय सिद्ध आलेको गुनासो छ । उहाँले भन्नुभयो, “परम्परागत रीतिरिवाज र संस्कृतिको संरक्षणका लागि पहल थालिएको हो ।”
नेपाली मौलिक संस्कृति र मगर जातिको संस्कृतिसँग जोडिएको झामरे नाचलाई पुर्नजीवित गराउन आफूहरु जुटेको उहाँको भनाइ छ । उहाँका अनुसार मगर समुदायमा यो नाच लामो समयसम्म नचाउने गरिन्छ । हरेक वर्ष दसैँको अष्टमीदेखि सुरु हुने यो नाच माघसम्म नचाइन्छ । मादल, झर्रा र डम्फुको तालमा युवायुवतीले गीत गाएर सामूहिकरुपमा नाच्ने प्रचलन छ । यसले समुदायमा भाइचारा विकास गर्न सहयोग पुग्ने भनाइ छ ।
तनहुँ, नवलपुर, पाल्पा, स्याङ्जा, गोरखा र बागलुङलगायतका मगर जातिको बाहुल्य रहेको ठाउँमा झामरे नाच नाच्ने प्रचलन रहँदै आएको छ । मगर समुदायको बाहुल्य रहेको ऋषिङमा झाम्रे नाच संरक्षणका लागि स्थानीय तहले पनि सहयोग गर्दै आएको छ ।
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले मगर समुदायको यो नाच संरक्षणका लागि पालिकाले सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ऋषिङ कला र संस्कृतिमा धनी छ । त्यसमाथि मगर बाहुल्य रहेको यो पालिकामा झामरे नाच संरक्षणका लागि पालिकाका तर्फबाट बजेट विनियोजन गरिएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विनयी खोलाको डाइभर्सन बगाएपछि नारायणघाट–बुटबल राजमार्ग अवरुद्ध
- पाठकलाई साइबर ब्युरोले भन्यो - 'प्रहरी कार्यालयमा उपस्थित हुनु'
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री