
टीकापुर । जिल्लाको टीकापुर नगरपालिकाको जोखिम संवेदनशील भूउपयोग योजनाको अन्तिम मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ । नगरपालिकाको भूउपयोग योजना लागू भएमा शहरी विकास र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने जनाइएको छ ।
भूउपयोग योजनामा शहरी अवस्था विश्लेषण, बहुविपद् जोखिम मूल्याङ्कन, बहुक्षेत्रगत जोखिम क्षमता विश्लेषण, शहरी जनसङ्ख्या र स्थानीय वृद्धिको प्रवृत्ति, भूउपयोग क्षेत्र निर्धारण योजना, प्रस्तावित भूउपयोग नीति लगायत विषय समेटिएका छन् ।
योजनामा नगरपालिका र वडास्तरका बहुविपको पहिचान र नक्साङ्कन गरिएको छ । कृषि, सडक, भवनजस्ता क्षेत्रमा जोखिमको स्तर मूल्याङ्कन गरिएको छ । बहुविपद् जोखिम मूल्याङ्कनका आधारमा वडामा रहेका जग्गालाई अति उच्च जोखिम, उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिम वर्गमा वर्गीकरण गरिएको छ ।
कार्यक्रममा सहजीकरण गर्दै परामर्शदाता डा सञ्जय उप्रेतीले योजना निर्माण गर्दा विभिन्नखाले अध्ययन गरिएको बताउनुभयो । ‘बहुविपद्का दृष्टिले वडा नम्बर १ कम जोखिममा र वडा नम्बर ८ उच्च जोखिममा रहेको वडाका रूपमा राखिएको छ’ उहाँले भन्नुभयो– ‘वडा नम्बर २, ५ र ६ मध्यम जोखिम वडाका रूपमा छन् । वडा नम्बर ५, ७ का धेरै बस्ती लगायत वडा नम्बर ६ र ९ का दैलेखपुर र पायलगाउँ बाढीको उच्च जोखिममा रहेका छन् ।’
उहाँले बुहप्रकोपसँगै सकङ्टासन्न जोखिम आकलन विश्लेषण गर्दा उच्च जोखिममा रहेका क्षेत्रमा निर्माण, घर बनाउन निषेध गर्नुपर्ने बताउनुभयो । ‘हामीले योजनामा उच्च जोखिममा रहेका क्षेत्रमा पालिकाले विकास निर्माणका कार्य नगर्ने, घर बनाउन अनुमति दिन हुँदैन भन्ने उल्लेख गरेका छौँ’ उहाँले भन्नुभयो– ‘जोखिम विश्लेषण गर्दा उच्च जोखिममा रहेका क्षेत्र निर्माणका लागि निषेधित गरेमा क्षति न्यूनीकरणमा सहयोग पुग्छ ।’
भूउपयोग योजनामा भूउपयोग क्षेत्रलाई ११ वर्गमा वर्गीकरण गरिएको छ । यसमा मिश्रित शहरी क्षेत्र, शहरी विस्तार क्षेत्र, शहरी बजार क्षेत्र, संस्थागत क्षेत्र, औद्योगिक क्षेत्र, ग्रामीण बजार क्षेत्र, न्यून जनघनत्व ग्रामीण आवासीय क्षेत्र, कृषि क्षेत्र, वन क्षेत्र, खुला क्षेत्र र नदी र जल क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ । भूउपयोग योजनाले सुरक्षित क्षेत्रमा विकासलाई बढावा दिन, प्राकृतिक स्रोतको संरक्षण गर्न विद्यमान शहरी क्षेत्र र ग्रामीण बजार वरपर कृषि भूमि र पूर्वाधारको विस्तारलाई बढावा दिने काम गर्छ । यसका साथै नगरपालिकाको भूउपयोग नीति निर्माण गरिएको छ ।
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख भूमिश्वर पोखरेलले योजना बनाएमा पालिकालाई आउँदा दिनमा शहरी विकास गर्न, हरेक वडामा लगानी गर्दा सहज हुने बताउनुभयो । ‘भूउपयोग योजनापछि कुन क्षेत्रमा के गर्ने, कस्ताखाले विकास गर्ने भन्ने योजना बनाउन सहज हुन्छ’ उहाँले भन्नुभयो– ‘विपद् न्यूनीकरणमा यो योजनाले थप सहयोग पुग्छ ।’
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीले जथाभावी हुने उत्खननले विपद् निम्त्याएकाले यस्ता विषय समावेश हुनुपर्ने बताउनुभयो । ‘निर्माणका नाममा एकातिर खन्ने, अर्कोतिर माटो थुपार्ने कार्यले विपद् निम्त्याएको छ । यस वर्ष पनि खाल्डाखुल्डीमा बालबालिका डुबेर ज्यान गएका छन्’ उहाँले भन्नुभयो– ‘शिविरमा रहेका बस्तीमा सुकेका रुख ढलेर मानिसको ज्यान जाने जोखिम छ । यस्ता विपद्लाई पनि समेट्न आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै