
काठमाडौँ । सर्लाही प्रहरीले सार्वजनिक गरेको ‘वान्टेड सूची’मा नाम समेटिएका जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोक यादवले आफूलाई फरार भनिएको दाबी अस्वीकार गरेका छन्।
शुक्रबार बिहान फेसबुक लाइभमार्फत प्रतिक्रिया दिँदै यादवले आफू हाल छोराको उपचारमा संलग्न रहेको स्पष्ट पारेका छन्। उनले भने, “म भागेको होइन, मेरो छोराको अवस्था गम्भीर छ। प्रहरीले नै कुटपिट गरेर घाइते बनायो, अहिले उसको उपचारमा छु।”
यादवले प्रहरी कारबाहीको शैलीप्रति आक्रोश व्यक्त गर्दै आफूलाई जबर्जस्ती अपराधी बनाउने प्रयास भइरहेको आरोप लगाए। उनका अनुसार आफूविरुद्ध हालसम्म दुईवटा मुद्दा दर्ता भइसकेका छन्। तीमध्ये एउटा सार्वजनिक सेवामा अवरोध पुर्याएको र अर्को राजनीतिक उपद्रव सम्बन्धी हो।
फेसबुक लाइभमा यादवले सञ्चारमाध्यममा आएको ‘फरार’ भन्ने समाचारप्रति आपत्ति जनाउँदै भने, “म कहिल्यै फरार थिइनँ। प्रहरी आएर मेरो छोरामाथि डाँका शैलीमा कुटपिट गर्यो, अब म बुबा भएर उसको उपचारमा नलागौं ?”
उनले राज्यप्रणालीमाथि पनि कटाक्ष गरे। “म शोषित, पीडित र निमुखा जनताको पक्षमा बोल्छु, भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउँछु भनेर मलाई अपराधी घोषणा गर्ने हो भने म सय वटा मुद्दा सामना गर्न तयार छु,” उनले चुनौती दिए।
यादवका अनुसार प्रहरीले हदै पार गरेर आफ्ना छोराको घाँटीको नसासम्म च्यातिएको छ। “यति हुँदासमेत मुद्दा लगाएर मलाई फसाउने खेल भइरहेको छ,” उनले भने, “तर म डराउँदिन, चाँडै सर्लाहीमै फर्किन्छु।”
उनले आम जनतालाई पनि खबरदारी दिँदै आन्दोलनका लागि तयार रहन आह्वान गरे। साथसाथै सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँग भएको भनिएको विवादप्रसंगमा आफूले गाली गलौज नगरेको दाबी गर्दै आरोपहरू आधारहीन भएको जिकिर गरे।
स्मरण रहोस्, बिहीबार राति एसपी खड्का र यादवबीचको भनाभन भएको अडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेपछि सर्लाही जिल्ला अदालतले यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु