+

आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै

काठमाडौँ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज नेपाल र विदेशका विभिन्न स्थानमा विविध सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ।


संस्कृतमा लेखिएको रामायण लाई नेपालीमा भावानुवाद गरेर प्रस्तुत गर्दै भानुभक्तले नेपाली भाषामा साहित्यिक क्रान्तिको थालनी गर्नुभएको मानिन्छ। उहाँले अनुवाद गरेको रामायण अझै पनि नेपाली घरघरमा श्रद्धापूर्वक पाठ गरिन्छ।


पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रूपमा एकीकृत गरे झैं, भानुभक्तले नेपाली भाषा, साहित्य र संस्कृतिको माध्यमबाट भावनात्मक एकता स्थापना गर्नुभएको साहित्यकारहरू बताउँछन्।


वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मनुभएका भानुभक्तलाई एक घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भन्ने सन्देश दिएका थिए। यही प्रेरणाले उहाँलाई नेपाली भाषामा रामायण लेख्न उत्प्रेरित गरेको मानिन्छ।


उहाँका वधुशिक्षा, भक्तमाला, रामगीता, प्रश्नोत्तर लगायत थुप्रै रचनाहरू नेपाली साहित्यको अमूल्य सम्पदा हुन्। सरकारी ढिलासुस्ती र ‘भोलिभोलि’ प्रवृत्तिको आलोचना गर्दै उहाँले लेख्नुभएको चर्चित पंक्ति —
“भोलिभोलि भन्दैमा सब घर बितिगो, बक्सियोस् आज झोली” — अझै सान्दर्भिक छ।


भानुभक्तले नेपाली भाषाको विकास, जातीय एकता र सांस्कृतिक चेतना जगाउन ठूलो योगदान दिनुभएको छ। उहाँका काव्यले राष्ट्रिय पहिचान बलियो बनाएको बताउने समालोचकहरू भानुभक्तका कृतिहरूमाथि अध्ययन, समीक्षा र बहस गरिनु अहिलेको आवश्यकता भएको धारणा राख्छन्।


भानुभक्तको योगदानलाई उच्च सम्मान गर्दै आज काठमाडौँको रानीपोखरीस्थित उहाँको शालिकमा माल्यार्पण गरिएको छ र नगर प्रभातफेरी समेत आयोजना गरिएको छ।


यस अवसरमा विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाहरूले कविता वाचन, संगोष्ठी र श्रद्धाञ्जली कार्यक्रम गरी भानु जयन्ती मनाइरहेका छन्।


भानुभक्तभन्दा अघि पनि नेपालीमा कविता लेख्नेहरू थिए भन्ने तर्क उठ्ने गरे पनि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीका अनुसार लोकलयमा आधारित भावानुवादमार्फत भाषिक एकता ल्याउने योगदानका कारण भानुभक्तलाई आदिकवि भन्नु उचित छ।


उहाँको रामायण लाई नेपाली साहित्यमा नयाँ युगको सुरुवात मानिन्छ। वि.सं. १९२५ असोजमा उहाँको निधन भए पनि भानुभक्तको स्मरण नेपाल, भारतको दार्जिलिङ र सिक्किम, भुटान, म्यानमार (बर्मा) लगायत नेपाली भाषाभाषी रहेका ठाउँहरूमा विशेष श्रद्धाका साथ गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट