
काठमाडौँ । अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली आक्रमणलाई लिएर विश्व समुदायले विरोध जनाएको छ ।
पेन्सिल्भेनिआमा आइतबार आयोजित रिपब्लिकन पार्टीको र्यालीमा गोली प्रहार हुँदा उहाँ घाइते हुनुभएको छ। विश्वका नेताहरूले आक्रमणको घटनाले आफूहरू स्तब्ध भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले हत्या प्रयासका क्रममा घाइते हुनुभएका अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको कडा शब्दमा निन्दा गर्नुभएको उहाँका प्रवक्ताले बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपति बाराक ओबामा र बिल क्लिन्टनलगायत अमेरिकी राजनीतिज्ञहरूले आक्रमणको निन्दा गर्दै राजनीतिमा हिंसाका लागि कुनै स्थान नभएको बताउनुभएको छ । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले पनि आक्रमणको निन्दा गर्नुभएको छ । ‘एक पटक फेरि, हामीले राजनीतिक प्रतिनिधिविरुद्धको हिंसा देखिरहेका छौं’ उहाँले भन्नुभयो ।
बेलायती प्रधानमन्त्री कीएर स्टार्मरले आइतबार अमेरिकी रिपब्लिकन पार्टीको चुनाबी ¥यालीमा भएको दृश्य देखेर आफू स्तब्ध भएको बताउनुभयो । ‘कुनै पनि प्रकारको राजनीतिक हिंसा हाम्रो समाजमा अस्वीकार्य छ’ उहाँले भन्नुभयो ।
जर्मनीका चान्सलर ओलाफ स्कोल्जले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या प्रयास ‘घृणित’ भएको बताउनुभएको छ । स्कोल्जले एक्समा लेख्नुभएको छ– ‘अमेरिकी राष्ट्रपतिपदका उम्मेदवार डोनाल्ड ट्रम्पमाथिको आक्रमण निन्दनीय छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यस्ता हिंसात्मक गतिविधिले लोकतन्त्रलाई खतरामा पार्छ ।’
यसैबीच, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोँले आइतबार पूर्व अमेरिकी राष्ट्रपतिको हत्याको प्रयासलाई ‘त्रासदीपूर्ण घटना’ भन्दै ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको विरोध गर्दै राजनीति र लोकतन्त्रमा हिंसाको कुनै स्थान हुननहुने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘अमेरिकी उपराष्ट्रपति ट्रम्पमाथि भएको आक्रमण दुःखद् घटना हो । राजनीति र लोकतन्त्रमा हिंसाको कुनै स्थान हुँदैन ।’
त्यसैगरी, चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी रिपब्लिकन पार्टीका नेता तथा नया राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार ट्रम्पमाथि भएको गोली आक्रमणप्रति प्रतिक्रिया दिँदै घटनाको निन्दा गर्नुभएको छ । उहाँले घाइते ट्रम्पप्रति सहानुभूति प्रकट गर्नुभएको चीनको विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘हामी लोकतन्त्रलाई चुनौती दिने कुनै पनि प्रकारको हिंसाको विरुद्धमा दृढ रहनुपर्छ’ जापानी प्रधानमन्त्री फुमियो किशिदाले पनि राजनीतिक आक्रमणको विरुद्धमा प्रतिक्रिया व्यक्त गर्नुभयो ।
इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले पेन्सिलभेनियाको घटना दुःखद् भएको र यसबारे आफूले जानकारी प्राप्त गरिराखेको बताउनुभएको छ । साथै, ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले ट्रम्पमाथि भएको आक्रमणको ‘लोकतन्त्र र राजनीतिक संवादका सबै समर्थकहरूले कडा निन्दा गर्नुपर्ने’ बताउनुभएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले पूर्व अमेरिकी राष्ट्रपति सुरक्षित भएकोमा राहत व्यक्त गर्दै ट्रम्पको चुनावी कार्यक्रममा भएको डरलाग्दो दृश्यहरू देखेर स्तब्ध भएको बताउनुभएको छ । ‘यो अष्ट्रेलिया र अमेरिकीहरूले साझा रुपमा अनुशरण गर्ने लोकतान्त्रिक मूल्यमान्यता र स्वतन्त्रतामाथिको अक्षम्य आक्रमण हो’ अल्बनिजले भन्नुभयो ।
न्यूजील्यान्डका प्रधानमन्त्री क्रिस लक्सनले ‘कुनै पनि देशले यस्तो राजनीतिक हिंसाको सामना गर्नु हुँदैन’ भन्दै आक्रमणको निन्दा गर्नुभएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ट्रम्पमाथि भएको आक्रमणले आफू र पत्नी सारालाई स्तब्ध बनाएको बताउनभयो । ‘हामी उहाँको सुरक्षा र शीघ्र स्वास्थ्य लाभका लागि प्रार्थना गर्दछौँ’ नेतान्याहूले भन्नुभयो ।
यसैबीच अर्बपति एलन मस्कले ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै आक्रमणको विरोध गर्दै प्रतिक्रिया जनाउनुभएको छ । संयुक्त राज्य अमेरिकामा राष्ट्रपति, पूर्वराष्ट्रपति र उम्मेदवारहरूको कडा सुरक्षाबीच यसअघि पनि राजनीतिक हिंसाका घटनाहरू भएका छन् ।
सन् १९६३ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो भने सन् १९६८ मा उहाँका भाइ बबी केनेडीको गोली हानी हत्या गरिएको थियो । तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन सन् १९८१ मा हत्याको प्रयासमा गरिएको यस्तै आक्रमणमा बाँच्न सफल हुनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै