+

सिमलताल बस दुर्घटना : खोजीकार्य प्रभावकारी बनाउन माग

भरतपुर। चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् । उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन् । 

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए । हजुरबुबा दुर्घटनामा परेपछि शुक्रबार चितवन आउनुभएका रौतहटको गौरका विकेशकुमार पटेलले दुर्घटनापछि परिवार र गाउँनै शोकमा डुबेको बताउनुभयो । 

“बिहानै दुर्घटनाको खबर पायौँ, खोजी गर्न भोकभोकै नदी किनारमा बसेका छौँ”, उहाँले भन्नुभयो ।  

आफ्ना भिनाजु दुर्घटनामा परेपछि रौतहटका रमेशकुमार पटेल पनि शुक्रबारनै चितवन आउनुभएको छ । आफन्तसहित एम्बुलेन्स रिजर्भ गरेर आएको उहाँले बताउनुभयो । शुक्रबार रातिसम्म कोही पनि फेला नपर्दा जीवितै भेट्टाउने आश मारिसकेको उहाँको भनाइ छ । पटेलले भन्नुभयो, “शव फेला परे लैजान्थ्यौँ । अरु त केही आश छैन ।”

बाराको परसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले बेपत्ताको खोजी गर्न ढिलाइ भएको गुनासो गर्नुभयो । आफ्ना दुई छिमेकी बसमा रहेको थाहा पाएपछि घटनास्थलमा आउनुभएका उहाँले हेलिकप्टर दुर्घटना हुँदा सबै संयन्त्र प्रयोग गर्ने राज्यले बस दुर्घटना हुँदा खासै वास्ता नगरेको बताउनुभयो । “सुरक्षाकर्मी खटिरहनुभएको छ, उहाँले भन्नुभयो, “भेलबाढीले पानी धमिलो छ, गोताखोरसमेत तल पुगरे खोज्न सक्ने अवस्था छैन ।” पचास बढी परिवार र आफन्त पीडामा रहेको भन्दै उहाँले राज्यका सबै संयन्त्र परिचालन गर्न अनुरोध गर्नुभयो । 

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूहहरु दिनभर खटिएको बताउनुभयो । “नदीमा पानीको बहाव घटेको छैन । रातिको समयमा भएकाले जोखिम पनि हुने भयो”, उहाँले भन्नुभयो, “घटनास्थलबाट तीन÷चार किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन ।” उहाँले नदीमा पानीको बहाब उच्च र धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको बताउनुभयो । 

उहाँका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार वटा, नेपाल प्रहरीको एउटा गरी पाँच मोटरबोट, गोताखोर टोली र प्रविधि र स्रोत साधनको समेत प्रयोग गरिएको छ । उहाँले शुक्रबार केही कपडा भेटिएको भन्दै त्यही ठाउँलाई आधार बनाएर आजै बिहानैबाट उद्धार सुरु गरिने बताउनुभयो । 

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । बसमा सवार तीन जनाले पैडिएर ज्यान जोखाउन सफल भएका थिए । उनीहरुको चितवनका अस्पतालमा उपचार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट