+

प्रधानमन्त्रीले विश्वासको मत गुमाए स्वत : ७६ (३) को सरकार बन्छ : ओली

काठमाडौँ ।  प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस र दोस्रो नेकपा एमालेको सत्ता सहयात्रा तयारीको कारण पुष्पकमल दाहाल नेतृत्वको सरकार भोलिदेखि ढल्दैछ । 

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा भोलि विहीबार पाँचौ पटक विश्वासको मत माग्ने तयारी गर्नुभएको छ । तर यस पटक  प्रधानमन्त्री दाहालको विश्वासको मत केबल औपचारिकता मात्र हुनेछ । किन भने कांग्रेस र एमालेले सत्ता समीकरण तयारी गरेपछि प्रधानमन्त्री दाहालको पक्षमा यतिखेर नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१ र नेकपा एकीकृत समाजवादीका १० गरी ६३ सांसद मात्रै देखिएका छन् । यी मध्ये पनि रास्वपाले प्रधानमन्त्री दाहाललाई साथ दिने प्रतिवद्धता जनाएको  छ  ।  एकीकृत समाजवादी  भने अझै आफ्नै ढंगले निर्णय गर्ने पक्षमा छ । प्रधानमन्त्री दाहालले कांग्रेससहितको अघिल्लो गठबन्धनलाई अकस्मात् लत्याएर एमालेसँग सत्ता यात्रा गरेपछि समाजवादी चिढिएको हो । २ सय ७५ सदस्स्यीय प्रतिनिधिसभामा यद्यपि एकीकृत समाजवादीले साथ दिइ हाले पनि दाहाल सरकार अडिने स्थिति छैन । यसबीचमा अर्को अप्रत्यासित छप्ल्याङ नआए दाहाल सरकार बिहीबार ढल्ने निश्चित छ ।

दाहाल सरकार ढलेपछि कस्तो नेतृत्वमा सरकार बन्ला ? अहिले बहसको विषय भइरहेको छ । अब बने सरकार संविधानको धारा ७६ (२) अनुसार हुन्छ कि ७६ (३) अनुसार ? यसबारे राजनीति र कानुनी क्षेत्रमा  विभिन्न खाले तर्कवितर्क भइरहेको छ । यद्यपि यसको ‘कोर्ट’ राष्ट्रपतिको हातमा छ । दाहाल सरकारले प्रतिनिधिसभामा विश्वासको मत गुमाइसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्नु हुनेछ ।  राष्ट्रपतिले  ७६ (२) अनुसार नै नयाँ सरकार गठनको लागि आव्हान गर्नु भयो भने एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक मुलुकको प्रधानमन्त्री बन्नुहुनेछ । यदि ७६ (३) प्रयोग भयो भने राष्ट्रपतिले प्रतिनिधिसभाको ठूलो दल कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई सिधै प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ ।

दाहाल सरकार ढलेपछि राष्ट्रपतिले ७६ (३) को प्रधानमन्त्री नियुक्त गर्ने संभावना प्रवल रहेको राजनीति र कानुनी वृतमा चर्चा हुन थालेको छ । सत्ताको लागि नयाँ समीकरण बनाएका कांग्रेस र एमालेले ७६ (३) को प्रावधानमा नपुग्न प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन् । तर प्रधानमन्त्री दाहालले ‘छोड्न परेपछि त्यसै नछा्ड्ने, एमाले अध्यक्ष ओलीलाई सरकारको नेतृत्व गर्न नदिएर भित्तामै पुर्याएर छोड्ने’ भन्दै धार्नीको प्रतिनिधिसभामा आफ्नो पक्षमा बिसौली नपुगे पनि विश्वासको मत लिएरै छाड्ने अठोट लिनुभएको हो । यता कांग्रेस र एमाले अहिलेसम्म पनि ‘प्रधानमन्त्री दाहालले फ्याट्टै राजीनामा दिइहाले  ७६ (२) अनुसार दुई पार्टीबीच भएको सहमति अनुरुप पहिलो कार्यकाल ओलीको नेतृत्वमा सरकार बनाउन सजिलो हुन्थ्यो’ भन्ने पक्षमा छन् । तर कांग्रेस र एमालेको त्यो आकांक्षा प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मत लिने अडानमा गएपछि अन्योल भएको छ ।

राजनीतिमा आफूलाई दूरदर्शी ठान्ने एमाले अध्यक्ष ओलीले समेत केही महिनाअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा विश्वासको मत गुमाए, त्यसपछि ७६ (३) अनुसारको सरकार भन्ने तर्क गर्नुभएको थियो । नेकपा माओवादी केन्द्रलाई कांग्रेससँगको गठबन्धनबाट छुटाएर आफ्नो पक्ष पक्षमा ल्याएपछि  प्रधानमन्त्री दाहालले फागुन ३० गते चौँथो पटक विश्वासको मत लिने तयारी गर्दा एमाले अध्यक्ष ओलीले यस्तो तर्क गर्नुभएको हो । अध्यक्ष ओलीले गएको फागुन २९ गते एमाले संसदीय दलको बैठकमा आफ्ना सांसदहरुलाई प्रधानमन्त्री दाहालले विश्वासको मत गुमाए मुलुकमा ७६ (३) अनुसारको सरकार बन्ने प्रष्ट्याउनु भएको थियो । ओलीले त्यसबेला संसदीय दलमा गरेको सरकार गठन सम्बन्धी व्याख्याको भिडियो अहिले सामाजिक संजालमा छाएको छ । गएको फागुनमा प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाए मुलुकमा स्वत ७६ (३) अनुसारको सरकार बन्छ भनेर अरुलाई प्रष्ट्याउने एमाले अध्यक्ष ओली अहिले भने ७६ (२) अनुसार आफू प्रधानमन्त्री बन्नुपर्छ भन्ने अडानमा हुनुहुन्छ । 

त्यसबेला ओलीले बोलेको भनाई जस्ताको जस्तै :

उहाँले भोलि प्रधानमन्त्रीमाथि विश्वासको मत छ भनेर माग्नुहुनेछ । भोलि यदि उहाँको प्रस्ताव असफल भयो भने ७६ (२) को अर्थात् संयुक्त सरकार, मिलीजुली सरकारको च्याप्टर क्लोज हुन्छ । र, प्रस्ताव असफल हुनेबित्तिकै प्रमुख पार्टीको नेताको हिसाबले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ । त्यो सरकार अल्पमतको अयोग्य, दृष्टिकोणविहीन, परमुखापेक्षी, स्वाभिमानहीन, भवितव्यले आइलागेको, कुनै सङ्कल्प र केही नभएको बन्छ । त्यस्तो बन्न दिनुहुँदैन । त्यस परिस्थितिबाट देशलाई जोगाउनका लागि, अस्थिरतातर्फ जानबाट देशलाई जोगाउनका लागि र भिजनहीन, कमिटमेन्टहीन केही नभएको । अर्जुनले चराको आँखामात्र देखेजस्तो । सरकार मात्रै देख्ने । केही थाहा नपाउने त्यस्तो पार्टीका नेताको नेतृत्वमा सरकार बन्यो भने देश कता जान्छ ?  तसर्थ हामी दिल खोलेर, विना हिचकिचाहट, मनको कुनामा कतै नराखेर सकारात्मक कदमले विश्वासको मत दिन्छौँ ।’

ओलीले बोलेको भिडियो 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट