
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले बाढीपहिरो लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद अनिता देवीले बाढीपहिराले देशका विभिन्न स्थानमा यातायात अवरुद्ध, पठनपाठन ठप्प, खेतीयोग्य जमिन पानीमा डुबानमा परेका बताउँदै यस्तो अवस्थामा सरकारले के गरिरहेको छ भनी प्रश्न गर्नुभयो ।
सांसद अम्बरबहादुर रायमाझीले अविरल वर्षाका कारण उदयपुरका विभिन्न गाउँपालिकामा सडक र विद्युत् सेवा अवरुद्ध, खानेपानी, टेलिफोन सेवा बन्द भएकाबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ईश्वरीदेवी न्यौपानेले बाढीपहिराले वितण्डा मच्चाएका बेला सरकारको नेतृत्व गरेका दलको ध्यान सरकारको आयु लम्ब्याउनमा केन्द्रीत भएको आरोप लगाउनुभयो । उहाँले विपद् आउनुअघि नै पूर्व तयारीका लागि खासै काम नगरेकाले बढी समस्या भएको धारणा राख्नुभयो ।
सांसद किरणकुमार साहले दक्षिण कोरियामा रहेका लाखौँ नेपाली युवाले महँगो हवाई टिकटबारे श्रममन्त्रीलाई ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाइ नभएको उल्लेख गर्दै कोरिया जाने श्रमिकको भाडादर पुनरावलोकन गर्न सरकाररसँग आग्रह गर्नुभयो ।
सांसद कुसुमदेवी थापाले असहाय, शारीरिक रूपमा कमजोर बालबालिकालाई राज्यले संरक्षण दिए पनि बालिग भएपछि व्यवस्थापन गर्ने विषयमा आवश्यक स्पष्ट नीति नभएकाले सोसम्बन्धी व्यवस्था गर्न जरूरी रहेको धारणा राख्नुभयो ।
सांसद गङ्गाप्रसाद यादवले अविरल वर्षाका कारण धेरै जनधनको क्षति भइरहे पनि सरकारले आवश्यकतानुसार काम गर्न नसकेको बताउनुभयो । सांसद चन्दा चौधरीले वर्षाका कारण भएको धनजनको क्षतिबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।
सांसद अच्युतप्रसाद मैनालीले मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई थप विस्तार र व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अमृतलाल राजवंशीले सरकार अल्पमतमा परेको र संवैधानिक तथा नैतिक अधिकार नभएकाले छिटोभन्दा छिटो राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।
सांसद उर्मिला माझीले अहिले संसद्का दुई ठूला दल मिलेर नयाँ सरकार बनाउने सहमति गरेका र संविधान संशोधनमार्फत परिवर्तनलाई नै चुनौती दिनसक्ने आशङ्का व्यक्त गर्नुभयो । सांसद एकनाथ ढकालले पूर्वसासंदको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
सांसद कान्तिका सेजुवालले स्थानीय तह र प्रदेशले गर्ने कारोबारको भुक्तानी गर्ने ‘सफ्टेवयर’ सोमबार राति १२ बजेबाट बन्द भएको बताउँदै वर्षाको समयमा विद्युतीय कारोबार गर्न आवश्यक सफ्टवेयर सञ्चालनका लागि आग्रह गर्नुभयो । सांसद गोमा लाभ (सापकोटा) ले विपद्को बेला सरकारको आश नगरी दुःख परेको बेलामा उद्धार र राहतमा मद्दत पुर्याउने गरी आफ्नो पारिश्रमिकबाट प्रति महिना केही रकम छुट्याएर सङ्घीय सांसद राहत कोष स्थापना गर्न आग्रह गर्नुभयो । सांसद चन्द्रबहादुर विश्वकर्माले देशका विभिन्न स्थानमा यातायात अवरुद्ध भएकाले तत्काल यातायात सञ्चालनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षाण गराउनुभयो ।
सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले नेकपा (माओवादी केन्द्र) ले संविधानको पालना गर्ने बताउँदै प्रधानमन्त्रीले संविधानअनुसार नै विश्वासको मत लिँदासम्म अन्य दललाई धैर्य गर्न आग्रह गर्नुभयो । सांसद छिरिङ डम्डु लामा भोटेले कांग्रेस र एमालेबीच भएको नयाँ गठबन्धनले भ्रष्टाचार र अनियमितताका फाइल खोलेर छानबिन गर्न सक्नुपर्ने बताउनुभयो ।
सांसद जावेदा खातुन जागाले वर्षाका कारण बाढीपहिराबाट प्रभावितको उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन