
काठमाडौँ । प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबीच घोचपेच भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच सरकारमा सहभागी ठूलो दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिनुपर्ने वा संविधानको व्यवस्थाअअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भन्नेमा तर्कवितर्क भएको छ ।
बैठकमा विपक्षी बेञ्चमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरुले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् । सत्तापक्षीय दल नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) का सांसदले संवैधानिक प्रक्रियाअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने दोहोर्याएका छन् ।
असार १७ गते कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले वर्तमान सरकारले दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय गर्न नहुनेमा दुवै दलका सांसदले जोड दिएका छन् ।
सांसद योगेशकुमार भट्टराईले जनताका समस्या समाधानका लागि कांग्रेस र एमालेबीच सत्ता सहकार्यको समझदारी भएको बताउनुभयो । ‘देशमा लगानीको वतावरण बनाउन, बिग्रदै गएको अर्थतन्त्रलाई सुधार्न, युवावर्गका बाह्यमुलुकतर्फको गमन रोक्न र संविधान पुनरावलोकन गर्न दुई दलले सहकार्यको निर्णय गरेका हुन्’ उहाँले भन्नुभयो ।
कांग्रेसका सांसद डिगबहादुर लिम्बूले राजनीतिक क्षेत्रमा नयाँ परिस्थिति निर्माण भएको उल्लेख गर्दै अब बन्ने सरकारले जनचाहनाअनुसार काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले नयाँ सत्ता समीकरणले मुलुकमा स्थायित्व कायम गर्न नसक्ने दाबी गर्नुभयो । ‘दुई दलबीचमा के कस्ता सम्झौता भए, त्यो सार्वजनिक भएको छैन’ उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि संसदमा प्रस्ताव दर्ता गराइसक्नुभएको छ । संवैधानिक प्रक्रियामा गएकालाई कसैले पनि रोक्नु हुँदैन ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सिङ्गो मुलुक विपदमा परेका बेला जिम्मेवार भनिएका राजनीतिक दलहरु आफ्ना स्वार्थमा अल्झेका आरोप लगाउनुृभयो । ‘विपद्का बेला सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा दुई ठूला दल सरकार परिवर्तनमा लाग्नु विडम्बना हो ’ सांसद पराजुलीले भन्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले मुलुकका हितका लागि संशोधन गर्न सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताउनुभयो ।
नेकपा एकीकृत समावादीका सांसद शेरबहादुर कुँवरले प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत सामग्री वितरणमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले पहाड पहिरो र तराई÷मधेस बाढीबाट प्रभावित भएका उल्लेख गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन माग गर्नुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले मनसुनजन्य विपद्का घटनाका घाइतेको निःशुल्क उपचार हुनुपर्ने माग गर्नुभयो ।
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले वर्षाका कारण काठमाडौँ उपत्यकासहित मुलुकभरका विभिन्न क्षेत्र प्रभावित भएका उल्लेख गर्दै पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भारतको मेघालयस्थित कोइलाखानीमा मारिएका चार नेपालीको बारेमा तत्काल सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभयो ।
सांसद सुनिल शर्माले देशमा लगानीको वातावरण बनाएकामा सरकारलाई धन्यवाद दिनुभयो ।
सांसद पूर्णबहादुर तामाङले संसद्का दुई ठूला राजनीतिक दलले सहकार्यका निम्ति गरेको सहमतिको स्वागत गर्दै मुलुकलाई समृद्ध बनाउने योजना बनाएर त्यसमा लाग्न दुवै दललाई सुझाव दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै