
मनाङ । जिल्लाको माथिल्लो र तल्लो भागलाई जोड्ने पुलमा बाढीले क्षति पुर्याउँदा दुई भेगबीच आवतजावत पूर्णरुपमा विच्छेद भएको छ । जिल्लाको एक मात्र स्थलमार्गअन्तर्गत चामे गाउँपालिका–१ तिमाङ झरनामा आएको बाढीले मोटरेवल पुलमा क्षति पुर्याउँदा आवतजावतमा समस्या भएको हो ।
असार १७ गते तिमाङ झरनामा बाढी तथा ठूलाठूला ढुङ्गा र गेग्रानसँगै आएको पहिरोले मोटरेवल पुलमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो ।
पुलमा क्षति भएपछि तल्लो भेगका स्थानीयलाई सदरमुकाम पुग्न समस्या भएको स्थानीय फुर्वा लामाले बताउनुभयो । ‘सदरमुकामसम्म आउन तल्लो मनाङका स्थानीयले सकस भोग्नुपरेको छ । बाढीले पुलमा क्षति भएपछि चामे पुग्न सक्ने अवस्था छैन’ उहाँले भन्नुभयो– ‘सबैजसो कार्यालय सदरमुकाममा छन् । अत्यावश्यक कामबाट पनि तल्लो भागका स्थानीय वञ्चित भएका छन् ।’
बाढी कम नहुँदासम्म पुल मर्मत गर्न सकिने अवस्था नरहेको लामाले बताउनुभयो । एक मात्र स्थलमार्ग भएको जिल्लामा पटकपटकको बाढी र पहिरोका कारण आवागमनमा सास्ती हुँदै आएको उहाँको भनाइ छ । अत्यावश्यक काम परेर सदरमुकामका साथै जिल्ला बाहिर जानुपर्दा तिमाङ खोला र तिमाङ झरना कट्न सकिने अवस्था नभएको उहाँको गुनासो छ ।
स्थानीय मिनकासी गुरुङले असारमा कामको चापले सदरमुकाम जानुपर्ने बाध्यता रहेको भन्दै सडकका कारण निकै समस्या भोग्नुपरेको बताउनुभयो । ‘जिल्लाका बासिन्दा मनसुनको शुरुवातमा नै समस्या भोग्न बाध्य छन् । बाढीपहिरोले बाटो बन्द हुने, हिँडेर जान सास्ती, सवारीसाधन सञ्चालन गर्ने अवस्था छैन । मनाङको यो समस्या कहिलेसम्म ? कहिले यस्ता समस्याका समाधान होलान् ?’ उहाँले प्रश्न गर्नुभयो ।
तल्लो मनाङ बाढीपहिराको मारमा पर्दै आएको छ । नासों गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले अहिले बाढीले क्षति पुर्याएको स्थानमा वैकल्पिक मार्ग निर्माण गर्न सकिने अवस्था नभएको बताउनुभयो । मस्र्याङ्दी नदी किनारकिनारै सडक निर्माण भएकाले वैकल्पिक व्यवस्था नहुँदा तल्लो भागका स्थानीय बढी समस्यामा परेका उहाँको भनाइ छ ।
‘मनाङलाई बेसीशहर हुँदै अन्य जिल्लासँग जोड्ने एक मात्र सडक अवरुद्ध हुँदा जिल्लावासी प्रत्यक्ष प्रभावित भएका छौँ । पानी परिरहेकाले कहिलेसम्म यस्तो अवस्था भोग्नुपर्ने हो भन्ने आँकलन गर्न सकिएको छैन’ वडाध्यक्ष लामाले भन्नुभयो– ‘यसको मर्मत गरी मार्गलाई सहज बनाउन सरोकार भएका निकायसमक्ष छलफल गरिरहेका छौँ ।’ बाढी कम हुनासाथ काम थाल्ने गरी तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी लामिछानेले बगाएका पुलमा वैकल्पिक व्यवस्था गर्न तथा सडकलाई सफा गरी आवश्यक सुधार गर्न÷गराउन सम्बन्धित निकाय तथा अधिकारीसँग समन्वय भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार मनाङमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको साविककै मूल्यमा बिक्री वितरण गर्न व्यापारी÷व्यवसायीलाई अनुरोध गरिएको छ । कृत्रिम अभाव सिर्जना नगर्न समेत प्रशासनले अनुरोध गरेको छ ।
मनसुनजन्य प्रतिकूल अवस्थामा स्थानीयवासी संयमित रहन, विपद्को प्रतिकुलताप्रति सतर्क, सजग रहन विपद्जन्य घटनाका बारेमा जानकारी गराउन र पारस्परिक सहयोगलाई थप प्रभावकारी बनाउन समेत अनुरोध गरिएको प्रजिअ लामिछानेले बताउनुभयो । बाढी कम भए पनि आवश्यक औजार, सामग्री र प्राविधिकको अभावले सडक मर्मत समस्या भएको भन्दै स्थानीय तह र सरोकार भएका निकायबीच आवश्यक समन्वय गरिरहेका उहाँले बताउनुभयो ।
प्रजिअ लामिछानेका अनुसार मनसुन सुरुआत भइसकेकाले चामे बजारस्थित माडाखोला र घट्टेखोलामाथिको जीर्ण काठेपुल मर्मत गरिएको छ । काठेपुल जीर्ण हुँदा त्यस स्थानमा दुई हप्तामा नयाँ काठेपुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस क्षेत्रमा डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले पुल निर्माण गरेको हो । तिमाङ खोलामा आएको बाढीले तिमाङ पावर हाउस नजिकैको काठेपुल पनि बगाएको छ । बाढीले दुई ठाउँको पुलमा क्षति पुर्याउँदा आवतजावत पूर्णरुपमा अवरुद्ध भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन