
सुनसरी । धरानको गुराँसेडाँडाका बारे अधिकांश धरानवासी नै अनिभिज्ञ छन् । प्राकृतिक र पर्यटकीय गन्तव्यको रुपमा रहेको धरान उपमहानगरपालिका–२० विष्णुपादुकामा गुराँस फुल्ने जङ्गल छ भन्ने चर्चा अहिलेसम्म भएको थिएन ।
पहिलोपटक नेपाली कांग्रेस सुनसरी–१ क्षेत्रीय समितिले हालै धरान उपमहानगरपालिका–२० विष्णुपादुकाको वंशिलामा लालीगुराँस वृक्षरोपण कार्यक्रम आयोजना गर्दा त्यहाँ गुराँस फुल्ने गर्छ भन्ने कुराले धेरैलाई आश्चर्य बनाएको थियो । वंशिला र महाभारत डाँडा क्षेत्रमा ६२६ वटा गुराँसका बिरुवा रोपिएको थियो ।
वंशिला क्षेत्र डाँडा समुद्र सतहदेखि १४ सय मिटर माथिको उचाइमा रहेकाले यस ठाउँमा लालीगुराँस फुल्ने उपयुक्त हावापानी रहेको हुँदा वृक्षरोपण गरिएको नेपाली कांग्रेस सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘धरानलाई लालीगुराँसको सहर भनेर स्थापित गर्ने उद्देश्यले लालीगुराँसको बिरुवा रोपण गरिएको हो ।’ गुराँस र उच्च पहाडी क्षेत्रप्रति पर्यटकीय आकर्षणलाई धरानमै केन्द्रित गराउन वंशिलामा गुराँस संरक्षण र विकासको अभियान शुरु गरिएको बताउँदै तामाङले यो क्षेत्रको पर्यटकीय महत्व प्रचारप्रसारमा आएपछि यहाँको सडक पूर्वाधार र भौतिक विकासको ढोका खुल्ने छ भन्नुभयो ।
गुराँसका बिरुवा रोप्ने कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका नेता डा शेखर कोइरालाले धरानको विकट क्षेत्रहरुमा विकासको लागि रचनात्मक कदमको जरुरी रहेको बताउनुभयो । उहाँले लालीगुराँस लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै लालीगुराँस संरक्षण अभियानमा निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।
मौसम सफा भएको समयमा यस क्षेत्रबाट मकालु र कञ्चनजङ्घा हिमालको दृश्य मज्जाले अवलोकन गर्न सकिने स्थानीय विक्रम तामाङ बताउनुहुन्छ । दृश्यालोकन गर्नेहरूका लागि महाभारत पर्वत शृङ्खला उत्तरका पहाडी जिल्ला र दक्षिणतर्फ धरान बजारदेखि तलतिरका इटहरी, चारकोशे जङ्गल, सर्दु, खर्दु, भेडेटार लगायतका रमणीय ठाउँहरुको अवलोकन गर्न सकिन्छ । पहाडी क्षेत्रको चिसो वातावरणका साथै गुराँस फुलेको हेर्न पर्यटक तेह्रथुमदेखि ताप्लेजुङसम्म ठूलै खर्च गरेर पुग्ने गरेका छन् ।
यस क्षेत्रमा रैथाने लालीगुराँसको जङ्गल रहेको धरान उपमहानगरपालिका–२० वडा सदस्य देवेन्द्र राईले बताउनुभयो । विष्णुपाउ सामुदायिक वनको वंशिलादेखि महाभारत डाँडा क्षेत्रको जङ्गलमा फागुन, चैत महिनामा गुराँस ढकमक्क फुल्ने गर्दछ । यहाँ पाइने लालीगुराँस तेह्रथुमको तिनजुरे मिल्केतिरको भन्दा फरक प्रजातिको रैथाने गुराँस भएको अनुमान गरिए पनि कुन प्रजातिको भन्ने विज्ञहरूबाट यकिन नभएको उहाँको भनाइ छ ।
गुराँसको जङ्गलसँगै अन्य प्रजातिका रुखहरू पनि भएकाले गुराँसको वन विस्तारै नासिँदै गएको स्थानीयवासी बताउँछन् । वडासदस्य राईले भन्नुभयो– ‘वर्षौंपच्छे लाग्ने डढेलोका कारण नयाँ गुराँस हुर्कन नपाउने पुराना रुख डढ्ने गरेकाले अरू बोट बिरुवा बढेको छ ।’
वंशिला, महाभारत डाँडा धरान उपमहानगरपालिका– १७ मङ्गलबारे बजार क्षेत्रबाट करिब १४ किलोमिटर दूरीमा छ । मङ्गलबारेबाट धरान भञ्ज्जाङ सात किलोमिटर, भञ्जाङबाट विष्णुपादुका मन्दिर दुई किलोमिटर र मन्दिरबाट वंशिला करिब ६ किलोमिटरको दूरीमा पर्दछ । स्थानीयवासीले गरेको श्रमदान र धरान उपमहानगरपालिकाले ४ लाख रुपैयाँबाट विष्णुपादुका मन्दिरबाट माथि गाडी सवारी चल्न सक्ने पाँच किलोमिटर सडक निर्माण गरिएको छ । भिरको जोखिमपूर्ण बाटोमा कहीँ पनि टेवा पर्खाल र भित्ताबाट वर्षाको पानी बग्ने खोल्सा र नाला पनि छैन भने वर्षायाममा ठाउँठाउँमा जाने ससाना पहिरोले अवरुद्ध हुने गरेको छ ।
वंशिला नजिकै महाभारत डाँडा रहेको छ । १५ सय मिटरको उचाइमा हिमालय ध्यान केन्द्र स्थापना गरिएको छ । यो डाँँडा महाभारत पर्वत शृङ्खलाको सुनसरी–धनकुटा सिमानामा पर्दछ । ध्यान केन्द्रमा फर्पिङबाट आएका गुरु सोनाम लामाले यस क्षेत्रको मौसम आनन्ददायक रहेको बताउनुभयो । यस क्षेत्रमा पहाडी भेगको जस्तो हावापानी रहेको छ लामाको भनाइ छ । यसअघि यस क्षेत्रमा घाँस, दाउरा गर्ने, सिकार खेल्ने बाहेक कोही पनि पुग्ने गरेका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै