
बागलुङ । एक दशक अगाडिसम्म बागलुङको अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन । जब स्थानीय तह स्थापना भए, त्यसपछि बस्तीसम्म सडक पुर्याउने लहड शुरु भयो । पालिकाहरूले नागरिकको आवश्यकता र मागका आधारमा सबै ठाउँमा सडक विस्तार गर्दै गए । गाउँगाउँसम्म पुगेको सडक भने गुणस्तरीय नभएको स्थानीय बताउँछन् ।
हिउँदमा जसोतसो सञ्चालन हुने सडक बर्खाको करिब पाँच महिना ठप्पै हुन्छन् । बिना इन्जिनियरिङ र अव्यवस्थित रूपमा निर्माण भएका सडकले वातावारणसँगै बस्तीमा समेत नकारात्मक असर पुर्याएको निसीखोला गाउँपालिका–२ का नरबहादुर जिसीले बताउनुभयो । उहाँका अनुसार हिउँदमा निर्माण भएका सडक बर्खामा कामै नलाग्ने गरी भत्किने गरेका छन् ।
गाउँमा चार वर्ष अगाडि सडक पुगे पनि साँघुरो र अप्ठ्यारो हुँदा र सामान्य वर्षा पनि गाडी नगुड्ने जिसीले बताउनुभयो । सडक निर्माण गर्दा नापजाँच नगरी अव्यवस्थित रुपमा बनाइएकाले समस्या भएको उहाँको भनाइ छ । गाउँमा सडक आउँदा स्थानीय खुशी भए पनि अहिले आवागमनमा समस्या हुँदै आएको भन्दै सडक हिउँदमा पनि सञ्चालन हुने गरी पुनः निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
तमानखोला गाउँपालिका–६ नर्जाखानीका प्रेमबहादुर छन्त्यालले अव्यवस्थित सडकका कारण बर्खाका यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको सुनाउनुभयो । ठूलो वर्षा हुँदा बित्तिकै खोलामा गाडी तर्न नसक्ने र सडक सबै भत्किने हुँदा बजारबाट सामान ओसारपसार गर्न कठिन हुने उहाँले बताउनुभयो । उहाँले भौगोलिक विकटता र अव्यवस्थित सडकले सुविधाभन्दा बढी समस्या हुने गरेको बताउनुभयो ।
‘अव्यवस्थित रुपमा बनेका सडकले सुविधाभन्दा सास्ती दिएका छन् । बर्खामा गाडी सञ्चालन हुदैनन् । गाउँमा कोही बिरामी प¥यो भने डोकोमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता छ’ छन्त्यालले भन्नुभयो– ‘भूगोल नमिलेका कारण सडक व्यवस्थित हुनसकेको छैन, बर्खामा बजारबाट सामान ल्याउन र यात्रा गर्न निकै सकस हुन्छ ।’
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले सबै बस्तीमा सडक पु¥याइएको भन्दै यथाशीघ्र स्तरोन्नति गरी व्यवस्थित बनाउने योजना रहेको जानकारी दिनुभयो । सीमित स्रोत साधानका कारण तत्काल सडक व्यवस्थित बनाउन नसकेको उहाँले बताउनुभयो ।
नर्जाखानी, वित्रिवन लगायत केही गाउँमा बाहेक अन्य ठाउँमा बर्खाको समयमा पनि यातायात सञ्चालन हुने गरी सडकलाई व्यवस्थित बनाउन थालिएको अध्यक्ष बुढामगरले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै