+

खोटाङका ४ सय ३९ घर पहिराको उच्च जोखिममा

खोटाङ ।  जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिराको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ । 

मनसुनजन्य प्रकोपबाट हुने जनधनको क्षतिबाट जिल्लावासीलाई जोगाउन जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन गरेर बाढी र पहिरोको उच्च जोखिममा रहेका परिवार तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको हो । 

प्रहरीले गरेको सर्वेक्षणअनुसार १० स्थानीय तह रहेको जिल्लामा बाढीबाट ८५ परिवारका ३ सय २० र पहिरोबाट ४ सय ३९ परिवारका १ हजार ७ सय ६१ जना उच्च जोखिममा रहेका छन् । 

मनसुन शुरु भएसँगै प्रहरी परिचालन गरेर उच्च जोखिममा रहेका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो । उहाँका अनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा चारवटा स्थानीय तह बाढी र डुबानको उच्च जोखिममा रहेको प्रहरीको सर्वेक्षणले देखाएको छ । 

ऐसेखुखर्क गाउँपालिका–१ राखाबाङ्देल र वडा नम्बर ३ ऐसेलुखर्क, रावाबेँसी गाउँपालिका–१ कुभिण्डे र वडा नम्बर ६ हौँचुर, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र वडा नम्बर ९ सल्ले तथा केपिलासगढी गाउँपालिका–४ बाक्सिला र वडा नम्बर ७ सुङ्देल बाढी तथा डुबानको उच्च जोखिममा रहेका प्रनाउ खड्काले जानकारी दिनुभएको छ ।

पहिरोको उच्च जोखिममा जिल्लाका १० वटै स्थानीय तहका अधिकांश वडा रहेका प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नम्बर १५ विजयखर्क, ऐसेलुखर्क–५ जलेश्वरी, केपिलासगढी–५ सप्तेश्वरको दामथला, जन्तेढुङ्गा गाउँपालिकाका सबै वडा, बराहपोखरी–२ सुन्तले, वडा नम्बर ३ साउनेचउर र वडा नम्बर ४ फाक्टाङ, खोटेहाङ–६ को इन्द्रेणीपोखरी पहिरोको उच्च जोखिममा रहेका प्रनाउ खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार खोटाङ बजारमा भने पहिरोको जोखिम छैन ।  

रावाबेँसी गाउँपालिकाको वडा नम्बर १ कुभिण्डे र वडा नम्बर ३ लामीडाँडा, वडा नम्बर ६ हौँचुर, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वडा नम्बर १ याम्खा, वडा नम्बर ५ सप्तेश्वर छितापोखरी र वडा नम्बर ६ छितापोखरी, साकेला गाउँपालिकाको वडा नम्बर १ बाँझेच्यानडाँडा, वडा नम्बर २ रतन्छा, वडा नम्बर ३ खिदिमा, वडा नम्बर ४ मात्तिमको आहाले र वडा नम्बर ५ कात्तिके पहिरोको उच्च जोखिममा छन् । 

हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर १ बाहुनीडाँडास्थित ट्यामटुकु, फर्चेपु, खर्क र ठुल्ढुङ्गा, वडा नम्बर ७ महादेवस्थानको महादेवबेँसी र गैरीगुठ, वडा नम्बर ८ धितुङको दीपखर्क, दियाले, गैरी, रातेखोला, गराबु, वडा नम्बर ९ सल्लेको चिचिङ्गा र लुगु तथा वडा नम्बर १० अर्खौलेको डुक्सेली र नवलपुर पहिरोको उच्च जोखिममा रहेका प्रहरीको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

बाढी र पहिरोको उच्च जोखिममा रहेका जिल्लावासीलाई विपद् आइपरेको खण्डमा तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्नका लागि सम्भावित ठाउँको समेत पहिचान गरिएको प्रहरीले जनाएको छ । विपद् आइपरेको खण्डमा उनीहरूलाई उद्धार गरेर जिल्लामा सञ्चालित विद्यालय तथा सार्वजनिक भवनमा छ हजार आठ सय ५५ जनालाई राख्न सकिने ठाउँ रहेको प्रनाउ खड्काले जानकारी दिनुभएको छ । 

प्रहरीले जिल्लामा हुनसक्ने विपद्जन्य जोखिमलाई घटाउन २४ घण्टे आपत्कालीन सेवा शुरु गरेको जनाएको छ । मनसुन सुरु भएसँगै जिल्ला प्रहरी कार्यालयले १०० नम्बरको ‘हटलाइन’ सेवा सञ्चालन गरेर २४ घण्टे आपत्कालीन सेवा शुरु गरेको प्रनाउ खड्काले जानकारी दिनुभयो ।

यसैबीच, जिल्लामा हुनसक्ने प्राकृतिक प्रकोपलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । मनसुनजन्य विपद् व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकाय तथा रेडक्रसलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

उद्धार तथा राहत वितरणका लागि जिल्लास्थित सबै स्थानीय तहलाई आ–आफ्नो क्षेत्रमा तयारी अवस्थामा रहन पत्राचार गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद् आइपरेको खण्डमा समितिले जिल्लास्थित स्थानीय तहसँग सहकार्य गरेर उद्धार तथा राहत वितरण गर्ने निर्णय गरिएको समितिका संयोजक एवं प्रजिअ कार्कीले जानकारी दिनुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट