
कैलाली । कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिनुभएको छ ।
बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उहाँले जानकारी दिनुभयो । ‘वडा नम्बर १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन्, यसरी बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छन्’ नगरप्रमुख चौधरीले भन्नुभयो– ‘डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि वन विभागले टहरा हटायो, अब कहाँ बस्नुस् भन्ने । पालिकाले हजारौँ परिवार उद्धार गर्नसक्ने अवस्था पनि छैन ।’
हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ । भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछ । ‘अहिलेसम्म धनजनको क्षतिको खबर छैन, घरमा पानी पसेकाले मानिसका लुगाकपडा, भाडाकुँडा, खाद्यान्न भिजेका, बगेकाजस्ता क्षति भएका छन्’ नगर प्रमुख चौधरी भन्नुहुन्छ– ‘पालिका मात्रले कहाँ–कहाँ उद्धार गर्ने, कसरी व्यवस्था गर्ने ? हामी त समस्यामा पयौँ ।’
बाढी घरमा पसेपछि वडा नम्बर २ का सन्देश चौधरीको परिवार बुधबार दिउँसोदेखि सडकमा बसेको छ । ‘घरमा भएमा सबै सामान भिजेर नष्ट भए, हामी ज्यान बचाउन घर छोडेर निस्कियौँ’ उहाँले भन्नुभयो– ‘सरकारले हामीलाई सुरक्षित बस्ने वातावरण बनाउनुपर्यो ।’ लगातारको वर्षासँगै आएको बाढीले जोशीपुर गाउँपालिका ३ भितरियामा पौने दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेको स्थानीय भागीराम डगौराले बताउनुभयो । बाढीको सतह बढ्दै गएपछि कोही परिवार सडकमा निस्केको र कोही घरभित्रै बसिरहेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी लगातारको वर्षापछि कैलारी गाउँपालिका–७ रामपुरमा बाढीको उच्च जोखिम रहेका घरपरिवार र सरसामानलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेकोे प्रहरीले जनाएको छ । रामपुरमा तीन दर्जन बढी घरमा पानी पसेको छ ।
एक जनाको मृत्यु
कैलालीमा बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिकामा एक जनाको मृत्यु भएको छ । कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएकोे बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै