
मनाङ । देशभर मनसुन शुरु भएको छ । मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ । निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ ।
सोमबारदेखि लगातार परेको वर्षाका कारण बाढीले काठेपुल बगाउँदा डुम्रे–बेँसीशहर–चामे सडक पूर्णरुपमा अवरुद्ध छ । मनसुन भएसँगै स्थानीयवासीमा त्रास बढेको छ । मनाङ बाढीपहिराको जोखिम क्षेत्र मानिन्छ । त्यसैले मनाङवासीलाई बाढीपहिरोको सधैँ त्रास रहन्छ । पर्यटकीय क्षेत्र भएकाले पर्यटकको यहाँ बाह्रैमास आवगमन हुने गर्छ । बाढीपहिराका कारण सडक अवरुद्ध भइरहँँदा उनीहरुले सास्ती भोग्नुपर्ने अवस्था छ ।
तिमाङ खोलाले काठे पुल बगाएपछि अवरुद्ध भएको सडक खुलाउन सकस भएको छ । खोलाको बहाव नघट्दासम्म उक्त सडकमा सवारीसाधन नचलाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।
बाढीपहिराका कारण सडक मात्र नभइ मनाङमा विद्युत्, खानेपानी सेवा पनि ठप्प हुन्छ । सदरमुकाम चामेमा समय समयमा सञ्चार सम्पर्क टुट्ने समस्या छ । सडक अवरुद्ध हुँदा जिल्लामा खाद्यान्न, औषधि, इन्धन लगायतका अत्यावश्यक वस्तुको अभाव हुने गरेको छ । स्थलमार्ग डुम्रे–बेँसीशहर–चामे सडक सञ्चालन गर्न सकस हुँदै आएको छ । बिरामीलाई उपचारका लागि अस्पताल पुग्न निकै कठीन हुन्छ ।
‘वर्खामा जोखिम र सकसपूर्ण अवस्था मोल्नु पर्छ’ मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले भन्नुभयो । त्यस अवधिमा सबैभन्दा बढी सकस खाद्यान्न ढुवानी गर्न हुने गरेको उहाँको भनाइ छ । लमजुङको बेँसीशहर हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था भएकाले छोटो समयमा नै खोलामा पुल निर्माण गरिसक्नुपर्छ । विसं २०७८ मा ठूलो क्षति व्यहोरेको सम्झदै गुरुङले मुस्ताङ हुँदै ढुवानी गर्दा अन्नपूर्ण फेरो पदमार्गको सबैभन्दा उच्च विन्दु थोराङ्ला भञ्ज्याङ (५४१६मिटर) पार गरेर सामान ल्याएर गुजारा चलाएको सुनाउनुभयो ।
बाढीपहिराले सधैँ मनाङको माथिल्लो क्षेत्र समस्यामा पर्छ । खाद्यान्न ढुवानी गर्न समस्या हुन्छ । चामे–५ का फुर्वा लामा भन्नुहुन्छ– ‘अहिले तिमाङ खोलाको बाढीले काठेपुल बगायो । माथिल्लो मनाङ आवतजावत गर्ने अवस्था छैन । लामो समय अवरुद्ध भयो भने अत्यावश्यक सामग्री पुर्याउनै समस्या हुन्छ ।’
मनाङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङको यात्रा धेरै जोखिमपूर्ण छ । खहरे खोला, सानातिना खोला, घट्टेखोलामा आएको बाढीले यहाँको सडक सञ्जाल विच्छेद हुने गरेको उहाँले बताउनुभयो । स्थानीयवासी सौर्य ऊर्जामाथि निर्भर रहन्छन् ।
काठेपुल बगाएपछि समयमै पुल मर्मतको काम गर्न कठिन हुने प्रजिअ लामिछानेले बताउनुभयो । बाढीको बढी जोखिमयुक्त क्षेत्र मनाङको प्रवेशद्वार तालगाउँ हो ।
बाढीले बेँसीशहर–चामे सडकको पक्की पुल बगायो
तिमाङ खोलामा आएको बाढीले बेँसीशहर–चामे सडकमा रहेको पक्की मोटरेवल पुल बगाएको छ । मंगलबार राति तिमाङको तल्लो क्षेत्रको पक्की पुल बगाएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताउनुभयो ।
यसअघि मङ्गलबार साँझ तिमाङ खोलामा राखिएको काठेपुल बगाएको थियो । मंगलबार राति त्यस क्षेत्रको तल्लो भागमा रहेको तिमाङको ठूलो छहराको पुल बगाएको त्यो योजना कार्यालयले जनाएको छ । सानो छहराको पुलमा ढुङ्गा र ग्रेग्र्याङ थुप्रिएर क्षति पुर्याएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।
त्यस ठाउँमा काठेपुल विस्थापित गरी दुई वर्षअघि पक्की पुल निर्माण गरिएको थियो । त्यो योजना कार्यालयका अनुसार ठूलो छहरामा स्ल्याब कल्भर्ट पुल १९ लाख ९४ हजार रुपैयाँ तथा सानो छहरामा कल्भर्ट पुल ११ लाख ८५ हजार रुपैयाँमा निर्माण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै