
काभ्रे । खानीखोला गाउँपालिकाले कफी उत्पादक कृषकलाई अनुदान उपलब्ध गराएको छ । ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमअन्तर्गत कृषकलाई अनुदान वितरण गरिएको हो ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत महिलालाई उद्यमशील बनाउन सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । चालु आर्थिक वर्षमा कफी उत्पादक कृषकलाई समूहगत रुपमा २१ लाख रुपैयाँ अनुदान वितरण गरिएको उहाँले जानकारी दिनुभएको छ ।
अध्यक्ष थिङका अनुसार पालिकाले सामूहिक उत्पादनमा जोड दिँदै कृषक समूह बनाएर १९ समूहलाई अनुदान वितरण गरेको छ । उत्कृष्ट समूहमध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले एक वर्षमा १५ हजार चार सय ३४ केजी कफी उत्पादन गरेको पालिकाले जनाएको छ । उत्पादनका आधारमा उक्त सहकारीले रु चार लाख ६३ हजार ३३ अनुदान लिएको छ । खानीखोलामा वार्षिक ६६ हजार टन कफी उत्पादन हुने गरेको छ ।
कफी खेतीबाट वार्षिक रु चार करोडको आम्दानी लिने गरेको कृषक बताउँछन् । पालिकामा कफी उत्पादनको सम्भावना भएकाले ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ भन्ने नारालाई अघि सारेर प्रतिकिलो ३५ रुपैयाँका दरले अनुदान दिँदै आएको अध्यक्ष थिङले बताउनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीन गुणाले कफी उत्पादनमा वृद्धि भएको छ । गत वर्ष ७ लाख रुपैयाँ अनुदान वितरण गरिएको थियो ।
गृहिणी महिलालाई घरमा बसेर पनि आम्दानीको स्रोत पहिल्याउन सहज बनाउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा गृहिणी महिला सीपमूलक तालिम सम्पन्न गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारीमा सञ्चालित महिला सशक्तिकरण कार्यक्रममा साबुन र सरफ बनाउने तालिम दिइएको अध्यक्ष थिङले बताउनुभयो ।
वडा नम्बर ५ र ६ का महिलालाई लक्षित गरेर साबुन बनाउने तालिम र वडा नम्बर ४ मा अचार बनाउने तालिम आयोजना गरिएको पालिकाले जनाएको छ । जागरण नेपालको आयोजनामा भएको तालिममा वडा नम्बर ५ र ६ का ५० र अचार बनाउने तालिममा २५ जना महिलाको सहभागिता थियो । तालिमले उद्यमशील बनाउनाका साथै आयआर्जनमा वृद्धि गर्ने भएकाले आफूले सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष थिङले सहभागीलाई आग्रह गर्नुभयो ।
स्थानीय महिलाको माग र आवश्यकताका आधारमा स्थानीय उत्पादनमार्फत उद्यमशील बनाउने उद्देश्यले तालिम प्रदान गरिएको भन्दै तालिमपश्चात् महिला स्वरोजगार हुनाका साथै स्थानीय उत्पादनमार्फत आत्मनिर्भर बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले तालिमले खानीखोलाका महिला तथा कृषक समूहमा उत्साह छाएको बताउनुभयो । स्थानीय उत्पादन र सीपको मूल्याङ्कन गरी सहयोगी निकाय तथा पालिकाको समन्वयमा उत्पादनशील कार्यमा पालिका सधैँ साथमा रहने उहाँको भनाइ छ ।
समापन कार्यक्रममा सामाजिक विकास संयोजक एवं वडा नम्बर ४ का वडाध्यक्ष निशान मोक्तान र पूर्वाधार विकास संयोजक एवं वडा नम्बर ५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले महिला र युवा जनशक्तिलाई उत्पादनमूलक कार्यमा व्यस्त बनाउन तालिम प्रदान गरिएको बताउनुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने उहाँहरुको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन