
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडामा आश्रयस्थल निर्माण भएको छ ।
मुन्द्रा चढाउने डाडाँको पर्यटन विकासका लागि अन्नपूर्ण गाउँपालिकाले पर्यटकका लागि खाना र बास बस्न मिल्ने पाहुना आश्रयस्थल निर्माण गरेको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको ९ लाख रुपैयाँ अनुदान र १ लाख रुपैयाँ बराबरको जनश्रमदानबाट आश्रयस्थल निर्माण गरिएको अन्नपूर्ण–२ का वडाध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो ।
‘मुन्द्रा चढाउने डाडाँको नजिकै चुच्चेखर्क भन्ने ठाउँमा बनाएको आश्रयस्थलमा एक पटकमा ३० जनाले आश्रय लिन सक्छन’ उहाँले भन्नुभयो – ‘काठै काठबाट बनाइएको कटेजलाई टिनले छाइएको छ, भने हिउँदयाममा हुरी र हिउँले नजमोस भनेर छानोलाई भिरालोे बनाइएको छ ।’
आश्रयस्थल भएपछि पाहुनालाई पाल टाँगेर, ओडार र रुखमुुनी कष्टप्रद रुपमा रात कटाउनुपर्ने समस्या हटेको छ । सुरक्षित र सहज रुपमा बास बस्न पाएका छन् । बस्तीदेखि टाढा रहेकाले मजदूरहरु ३ महिना जड्गलमै बसेर आश्रयस्थल बनाएको मुन्द्रा चढाउने पर्यटन क्षेत्र पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु फगामीले बताउनुभयो ।
समुद्री सतहदेखि ३ हजार २ सय ४ मिटरको उचाइमा रहेको मुन्द्रा चढाउने डाडाँबाट हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय, जड्गलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । धौलागिरी, निलगिरी, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे, मनास्लु लगायत दर्जनभन्दा बढी हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी, गुराँससहितका वन जड्गलको मनमोहक दृष्य अवलोकन गर्न पाउनु मुन्द्रा चढाउने डाडाको विशेषता हो ।
मान्द्रेढुङ्गादेखि पाँच घण्टा पैदल हिँडेपछि मुन्द्रा चढाउने डाँडामा पुगिन्छ । यो बाटो भएर धौलागिरी आइसफल र आधार शिविर जान सकिन्छ । सडकका कारण पुराना पदमार्ग र पर्यटकको बसाइ छोटिएकाले मुन्द्रा चढाउने डाडाँलाई नयाँ गन्तव्यको रुपमा विकास गर्न पहल गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।
गाउँपालिकाले यसअघि मान्द्रेढुङ्गा–भूमेथान हुँदै मुन्द्रा चढाउने डाँडासम्म जोड्ने २ किलोमिटर ५ सय मिटर पदमार्ग निर्माण गरेको थियो । अप्ठ्यारो, उकालो र साँघुरो ठाउँमा ढुङ्गाको सिँढी चिनेर तथा तेर्सो ठाउँमा माटो खनेर पदमार्ग बनाएपछि लडेर दुर्घटन हुने, बाटो अलमलिएर हराउने समस्या हटेको छ ।
त्यस क्षेत्रमा खानेपानी, शौचालाई निर्माणका साथै पदमार्ग अन्तरगत ठाउँ ठाउँमा पर्यटन सूचना बोर्डसमेत राख्ने गरी आगामी वर्षको योजना सञ्चालन गरिने अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै