
तुलसीपुर । दाङ आफैँमा विकसित जिल्ला हो. तर अझै पनि खुमखानी लगायत कतिपय गाउँमा सडक सुविधा नपुगेको मात्र होइन, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि पुग्न सकेको छैन । तुलसीपुर उपमहानगरपालिका–४ स्थित यस गाउँका बासिन्दा सडक नहुँदा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै धेरैले ज्यान गुमाउनुपरेको छ ।
पढाइका लागि त्यहाँ एउटा कक्षा ५ सम्मको विद्यालय भए पनि दरबन्दीको अभावमा राहतका एक र बाल विकासका एक गरी दुई शिक्षकमात्रै छन् । कक्षा ५ भन्दा माथिको अध्ययनका लागि बजार नै जानुपर्ने हुँदा आर्थिक अवस्था कमजोर परिवारका बालबालिकाले पढाइलाई निरन्तरता दिनसकेका छैनन् । अहिलेसम्म त्यो गाउँका छ–सातजनाले मात्रै कक्षा १२ सम्म पढेका छन् ।
कुनै समय राजाले राज्य गरेको यो ऐतिहासिक ठाउँ पनि हो । बाइसे–चौविसे राज्य भुरेटाकुरे राजाहरूले राज गरेको इतिहास खुमखानीमा छ । स्थानीय ओपबहादुर थापाका अनुसार वारि खुमखानी राजा र पारि छिल्लीकोटे राजाबीच वारिपारि लडाइँ हुन्थ्यो । त्यसका केही–केही अवशेष अहिले पनि भेटिने गरेको ६९ वर्षीय थापाले बताउनुभयो । त्यहाँ केही आकर्षक ढुङ्गाहरू भएको स्थान भेटिन्छ, जसलाई ‘हनुमान ढोका’ भन्ने गरिएको उहाँको भनाइ छ । हनुमान ढोकाभन्दा तल रहेको ठूलो वन क्षेत्रलाई ‘टुँडिखेल’ भनिन्छ । टुँडिखेलमा पहिले राजाहरूका सिपाहीहरूले कवाज खेल्ने ठाउँका रूपमा थियो ।
तुलसीपुर बजारबाट खुमखानी हेर्दा आकर्षक पनि देखिन्छ । अग्ला डाँडाकाँडा भएकाले जिल्लाका सबै भू–भागसहित रुकुम, रोल्पा, सल्यान, प्यूठानसहित भारतका केही ठाउँ पनि देखिने हुँदा यहाँ पर्यटकीय सम्भावना पनि रहेको छ ।
खुमखानीमा उपल्लो गाउँ, तल्लो गाउँ, च्यानडाँडा र झारगाउँ गरी चार गाउँ छन् । कुनै समय त्यहाँ ६०–६५ घर थिए । विकासको पूर्वाधार राम्रो नहुँदा अहिले त्यहाँ ३२ घर छन् । तर, अलिकति जीवनस्तर सुध्रियो भने त्यहाँबाट बजारतिर बसाइँ सरिहाल्ने गरेको स्थानीय अमरबहादुर घर्तीले बताउनुभयो । ‘पहिला यहाँ ६०–६५ घर थियो’ स्थानीय घर्तीले भन्नुभयो– ‘तर, यहाँको दुःख देखेर अहिले अलिकति हुनेखाने भएपछि बजारतिर झरिहाल्छन्, अहिले हामी त्यहाँ ३२ घरको हाराहारीमा छौँ ।’
खुमखानीमा गाउँ स्वास्थ्यका हिसाबले समेत पछाडि परेको छ । ‘गाउँमा सामान्य उपचार पनि हुँदैन । सिटामोल किन्नुपर्यो भने पनि बजार नै झर्नुपर्छ’, घर्तीले भन्नुभयो– ‘सामान्य घाउचोट लाग्यो भने बजार नै पुग्नुपर्छ । सडक सुविधा नहुँदा बिरामीलाई डोकोमा बोकेर बजार पुर्याउनुपर्ने अवस्था रहेको छ ।’
यहाँका बासिन्दा कृषि र पशुपालनमै निर्भर छन् । यहाँ अहिले विद्युत् र खानेपानीको सुविधा भने पुगेको छ । विद्युत् पुगेसँगै त्यहाँका बासिन्दा खुशी भएका छन् । ‘हामीले विद्युत् पाउने कल्पना पनि गरेका थिएनौँ, अहिलेसम्म सडक पनि पुगेको छैन’ स्थानीय छवि विकले भन्नुभयो । सोलारको प्रयोग गरी लिफ्टिङ गरेर खोलाबाट पानी ल्याइएकाले खानेपानीमा भने केही सहज भएको छ । यसअघि घण्टौँ हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको थियो भने विद्युत् नहुँदा सोलार र टुकीको भर पर्नुपर्ने अवस्था थियो ।
यस गाउँसम्म सडक पुर्याउन चालु वर्षमा लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको ३० लाख रुपैयाँबाट केही सडक ट्रयाकको काम शुरु भएको छ भने आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै