
खोटाङ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिलान्यास गरेको पुलको खम्बा बाङ्गिएको छ ।
खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको हो । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको छ ।
वर्षा शुरु नहुँदै नदीको पानीले जग्गा कटान गरेपछि खम्बा बाङ्गिँदै गएको प्रत्यक्षदर्शीले बताएका छन् । निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले ठेक्का लिएको पुल २०७४ साल भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाले शिलान्यास गर्नुभएको थियो ।
विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि ‘पाइल’ फाउन्डेशनको काम भइरहेको छ । त्यही ‘पाइल’ फाउन्डेसन बनाउने क्रममा खोटाङतर्फ फर्काइएको पानीले कटान गर्दा खम्बा बाङ्गिएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जाराले बताउनुभयो ।
धाप्लाङघाटका स्थानीय दीर्घ मगरका अनुसार खम्बाको माथिल्लो भाग फाट्दै गएको र नदीतिर ढल्किँदै गएको छ, तर सडक विभाग पुल सेक्टर धरान, सुनसरीका योजना प्रमुख इन्जिनियर दारोगा प्रसादले भने पुलको खम्बा बाङ्गिएको विषयमा जानकारी नभएको जवाफ दिनुभएको छ । शुरुमा यहाँ ‘वेल’ फाउन्डेसन प्रविधिको पुल बनाउने ठेक्का खुलाइएको थियो । शिलान्यास गरेको सात वर्षपछि गत वर्ष ‘पाइल’ फाउन्डेशन प्रविधिको पुल बनाउने गरी डिजाइन परिवर्तन गरिएको हो ।
रसुवा एसएनएस पप्पु जेभीले विसं २०७६ असार–२९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते धाप्लाङघाटमा २ सय मिटर लम्बाइको पक्की पुल निर्माणको सम्झौता गरेको थियो । म्याद नाघेको पाँच वर्ष बित्दा ठेकेदारले खम्बाको काम पूरा गरेको छैन । खोटाङ र उदयपुरतर्फ वर्षौंअघि सडक बनिसकेको भए पनि धाप्लाङघाटमा पक्की पुल निर्माण नहुँदा झोलुङ्गेको प्रयोग हुँदै आएको छ ।
निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गिएपछि गुणस्तरमा समेत प्रश्न उठेको छ । धाप्लाङघाटमा पक्की पुल नहुँदा सबैभन्दा बढी कृषि उपज लोडअनलोड गर्दा किसानले व्ययभार खेपिरहेका छन् ।
भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुलका साथै धाप्लाङघाटको गरी दुईवटा पुल ५० करोड १४ लाख ६० हजार रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी रसुवा एसएनएस पप्पुले एउटै ठेक्कामार्फत जिम्मा लिएको थियो । एकै दिन शिलान्यास गरिएका रानीटार पुलको प्रगति पनि निराशाजनक रहेको स्थानीयबासीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै