+

कांग्रेसले ‘स्यालहुँइया’ मच्चायो, १०८ केजी सुनवाला कहाँ गयो ? ओली

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाइरहेको आरोप लगाउनुभएको छ । 

एमाले अध्यक्ष ओलीले बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रमुख प्रतिपक्ष दल कांग्रेसमाथिग यस्तो आरोप लगाउनुभएको हो । ‘अहिले गिरीबन्धु टि स्टेट भन्न जानेका छन्,  कराएका छन्’ उहाँले भन्नुभयो – ‘गिरीबन्धु टि स्टेटमा एक पटक ५१ र अर्को पटक १९ बिघा गरेर ७० बिघा कानुन, नियमविना बलजफ्ती बिक्री गरेर खाएका थिए । तीनै तत्वहरुले खाएका थिए । गिरीबन्धु टी स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानुन हामीले बनायौं, कानुन बनाएपछि नियम कानूनभित्र बस्नुपर्‍यो, बेचेर खान नपाइने भयो भनेर स्यालहुँइया मच्चाएका छन् ।’ 

ओलीले एमालेसँग वैचारिक रुपमा प्रतिस्पर्धा गर्न नसक्नेहरुले विभिन्न खाले आरोप लगाउने गरेको तर्क गर्नुभयो ।  ‘केपी ओलीले त्यो र यो गर्‍यो भनेर । यो किन हुन्छ भने हाम्रो पार्टीसँग वैचारिक संघर्ष गर्न सक्दैनन्’ उहाँले भन्नुभयो – ‘देश बनाउने कसरी त्यो आइडिया छैन । अनि एमालेलाई बदनाम गर्ने । यिनीहरूले यो काम गरेँ भन्ने त छैन नि ? एउटा सिन्को भाँचेको छ, यिनीहरूले देशका लागि ?’

पूर्वप्रधानमन्त्री ओलीले एमाले मुलुकको स्वाधिनता र समृद्धिको लागि संघर्षरत रहेको उल्लेख गर्नुभयो ।  ‘हामी देशको निर्णय गर्ने ठाउँमा, निर्णायक ढंगले राष्ट्रको स्वाधीनता, स्वाभिमान, भौगोलिक अखण्डता, हाम्रो स्वतन्त्रता, हाम्रा राष्ट्रिय हितहरु, त्यसको रक्षा गर्नसक्ने गरी, देशमा सुशासन गर्नसक्ने गरी देशलाई विकासको बाटोमा अगाडि बढाउनसक्ने गरी भिजिनरी, देशभक्त जनपक्षीय, जनताको शक्तिलाई राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्न चाहन्छौँ’ उहाँले भन्नुभयो – ‘ यही कुरा हुन नदिनका लागि हाम्रो बारेमा, मिथ्या, अनर्गल प्रचार प्रसार गर्ने, झूटो बोल्ने यस्ता काम भएका छन् ।’ 

अध्यक्ष ओलीले मुलुकको समृद्धि र राष्ट्रियको लागि प्रयत्नशील रहेकैकारण एमाले र आफूमाथि बेला बखत विभिन्न खाले मिथ्या आरोप लाग्ने गरेको धारणा व्यक्त गर्नुभयो ।  ‘अनेकथरी, एकपछि अर्को निस्किन्छ । एउटा स्याल कराइसक्यो, अर्को स्याल निस्किएर कराउँछ । एउटा करायो, पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढायो, केपी ओलीले पित्तल चढायो, छानविन गरी पाउँ भनेर । पशुपतिमा चढाएको जलाहरी भत्काएर, तौलिएर, सुन हो की होइन घोटेर उधुम गरे । सुनै चढाएको रहेछ । कहाँ गयो त्यो कराउने अहिले ? १०८ केजी सुनवाला कहाँ गयो त्यो’ उहाँले भन्नुभयो– ‘अर्को करायो एउटा । कम्बोडियामा ३ हजार करोड लगेर टेलिकममा राखेको छ रे । कहाँ गयो, त्यो अचेल, फिर्ता ल्याए भयो नि, त्यो पैसा । उनीहरुको सरकार थियो, अस्तिसम्म एउटा किन ल्याएन फिर्ता ?’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट