
काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो ।
विसं २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६ दशमलव दुई प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २४ दशमलव दुई प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई १७ खर्ब २२ अर्ब २ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ वैशाख मसान्तसम्ममा १३ दशमलव आठ प्रतिशतले वृद्घि भई दुई खर्ब २० अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । गत बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव एक प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव एक महिनाको वस्तु आयात र १२ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
गत वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३४ प्रतिशत बराबर छ । कूल आयातसँगको अनुपात एक सय पाँच दशमलव तीन र विस्तृत मुद्राप्रदायसँगको अनुपात २९ दशमलव दुई प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ ले बचतमा रहेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा आयात दुई दशमलव चार, निर्यात तीन दशमलव छ र कूल वस्तु व्यापार घाटा दुई दशमलव ३ प्रतिशतले घटेकोछ ।
गत वैशाख मसान्तसम्ममा नेपाल सरकारको खर्च १० खर्ब ५६ अर्ब ८९ करोड र राजस्व परिचालन ८ खर्ब ३१ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । यो अवधिसम्मको विस्तृत मुद्राप्रदाय आठ दशमलव एक प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२ दशमलव चार प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै