
काठमाडौँ । नीति निर्माता तथा विज्ञहरु गाँजा खेतीका लागि अध्ययन र अनुसन्धानमा लचिलो देखिएका छन् ।
आव २०८१ र ०८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे आज प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल भएको थियो । छलफलमा सहभागीले गाँजाको व्यावसायिक उत्पादन गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।
बजेटमा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ विषयमा समितिले छलफल चलाएको थियो । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुतिमा गाँजाबाट निर्मित ब्याग बोकेको प्रसङ्ग उठाउँदै भन्नुभयो– ‘गाँजा उत्पादन जताततै छ । मैले बोकेको ब्यागको पनि चर्चा भयो । यसका उत्पादन प्रयोग भइ नै रहेका छन् । यसको प्रयोगबाट कुलतमा फसेका पनि छन् । सचेत भएर गाँजालाई वैधानिकता दिने गरी कानुनी व्यवस्था गर्नुपर्छ । फेरि व्यवस्थित गर्न नसके ठूलै प्रकोप निम्तिन्छ ।’
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले कुन भौगोलिक क्षेत्रमा कस्तो गाँजा खेती गर्ने भन्नेबारेमा अध्ययन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यससम्बन्धी अध्ययन भइरहेको छ । छिट्टै प्रतिवेदन सार्वजनिक हुन्छ । गाँजा खेतीको सम्भावना छ तर यसले सामाजिक परिवेशमा पार्ने प्रभाव र बजारको पनि अध्ययन हुनुपर्छ ।’
कृषि मन्त्रालयका सचिव डा दिपककुमार खरालले गाँजाको व्यवसायिक खेतीको सम्भाव्यता अध्ययन गर्न लागू औषध (नियन्त्रण) ऐन, २०३३ संशोधन हुनुपर्ने धारणा राख्नुभयो । ‘कानुनी सहजीकरण नभएसम्म हुँदैन । बाँझो जमिनमा यसको खेती गर्न सकिन्छ । खेतीसम्बन्धी बोर्ड नै गठन गरेर जान सकिन्छ’ डा खरालले भन्नुभयो ।
पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजाको व्यावसायिक खेतीमा किसान केन्द्रित बनाउनुपर्ने बताउनुभयो । ‘खेतीका लागि कुनै व्यक्ति वा संस्थालाई नभइ किसानलाई नै प्रोत्साहन गर्नुपर्छ । गाँजाले अर्थतन्त्रमा योगदान दिन सक्छ’ मन्त्री तामाङले भन्नुभयो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा प्रदीप केसीले गाँजाका बारेमा आयुर्वेदमा थुप्रै अध्ययन भइसकेको भन्दै औषधीय गुणको चर्चा गर्नुभयो । मानसिक अस्पतालका डा अनन्त अधिकारीले गाँजाको औषधीय गुण भएपनि यसले नकरात्मक असर समेत पार्न सक्दै भन्दै सचेत रहन आग्रह गर्नुभयो ।
काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता प्राडा पन्ना थापाले नेपालमा विभिन्न प्रकारका गाँजाहरु पाइने र वैज्ञानिक अनुसन्धान गर्न स्वीकृति दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘अनुसन्धानमा दुखाइ कम गर्ने, छारे रोग, डिप्रेसन, एन्जाइटी, क्यान्सर थेरापीलगायतमा गाँजाको उपयोग हुने देखिएको छ । गाँजामा औषधीय गुणसँगै यसको रेसाबाट लुगा, कस्मेटिक, खाद्यपदार्थमा पनि प्रयोग हुन्छ ।’ उहाँले किसानलाई लक्षित गरेर गाँजा खेतीका लागि अन्तराष्ट्रिय मापदण्डसँग मिल्ने गरी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
उपयुक्त कानुन निर्माण गर्नुपर्ने, निगरानी तथा नियमनमा जोड दिनुपर्ने, खेतीका लागि वास्तविक किसानलाई प्रोत्साहन गर्नुपर्ने लगायत विषयमा केन्द्रित बैठकमा सांसदहरूले प्राथमिकतामा राखेर विधेयक छिटो ल्याउनुपर्ने बताउनुभयो । बैठकमा गाँजा खेतीको औषधी प्रयोजनको लागि यसको उत्पादन, प्रशोधन, बिक्री वितरणसँग सम्बन्धित विषयमा कानूनी वातावरण तयार गरी वैधानिकता प्रदान गर्ने सम्बन्धमा छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन