
खोटाङ । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण शुरु गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका ४, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका २, २, जन्तेढुङ्गा गाउँपालिकाका ३ तथा रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका ३ सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको थालिएको डिभिजन प्रमुख पशुपति दाहालले बताउनुभयो । ‘मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुन्छ । वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माणको काम शुरु गरिएको हो’ उहाँले भन्नुभयो– ‘रिचार्ज पोखरी निर्माणका लागि जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल) ले सहकार्य गरेको छ । निर्माणाधीन रिचार्ज पोखरी आउँदो असारभित्र सम्पन्न हुन्छ ।’
जिल्लाका विभिन्न सामुदायिक वनमा निर्माण गरिने १५ रिचार्ज पोखरीमध्ये केही ठाउँमा निर्माण सम्पन्न भइसकेका छन् भने केही ठाउँमा धमाधम निर्माण भइरहेका छन् । जिल्लामा निर्माण गरिने १५ रिचार्ज पोखरीमध्ये पाँचवटा डिभिजन वन कार्यालय तथा दशवटा जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल) को सहकार्यमा निर्माण हुनेछन् ।
डिभिजन वन कार्यालयले निर्माण गर्ने रिचार्ज पोखरीका लागि प्रतिपोखरी २ लाख ५० हजार तथा डिसिआरएलले निर्माण गर्ने पोखरीका लागि २ लाख ३५ हजार रुपैयाँ विनियोजन भएको छ । रिचार्ज पोखरीले मुहान संरक्षण हुनुका साथै मुहानमा पानीको मात्रा बढ्नेमा आफूहरु विश्वस्त रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताउनुभयो ।
डिभिजन वन कार्यालयले यसअघि पनि जिल्लाका विभिन्न सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण गरेको थियो । पोखरी निर्माणले पर्यायवरण संरक्षणमा सहयोग पुग्ने सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राईले बताउनुभयो ।
बिरुवा वितरण
यसैबीच डिभिजन वन कार्यालय खोटाङले यस वर्ष विभिन्न प्रजातिका ८० हजार बिरुवा गाउँलेलाई वितरण गर्ने तयारी गरेको छ । कार्यालयको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत डालेघाँस, धुपी सल्ला, तेजपत्ता, जाकाराण्डा लगायत विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा उत्पादन गरेर वितरण हुन लागेको हो ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भाँडबेँसीमा ४० हजार खयरका बिरुवा उत्पादन गरिएको छ । प्रतिगोटा १० रुपैयाँका दरले सामुदायिक वन उपभोक्ता समितिलाई भुक्तानी दिनेगरी खयरका बिरुवा उत्पादन गर्न लगाइएको डिभिजन प्रमुख दाहालले जानकारी दिनुभएको छ । डिभिजन वन कार्यालय खोटाङ तथा सामुदायिक वन उपभोक्ता समितिले उत्पादन गरेका बिरुवा यसै वर्ष वितरण गरिने जनाइएको छ । उत्पादित बिरुवा सामुदायिक वन उपभोक्ता समितिलाई निःशुल्क उपलब्ध गराइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन