
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले देशका विभिन्न जिल्लामा भएको ‘लोडसेडिङ’बारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ। सभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले तराईका जिल्लामा गर्मी बढ्दै गर्दा विद्युत् प्राधिकरणले विद्युत् कटौती गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
बैठकमा सांसद धवलशम्शेर जङ्गबहादुर राणाले अत्यधिक गर्मी बढेकै बेला विद्युत् कटौती हुँदा थप समस्या भएकाले नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
सांसद डा तोसिमा कार्कीले मेलम्ची खानेपानी आयोजनाको १ करोड ८० लाख लिटरको ट्याङ्की ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा भए पनि खानेपानीको समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद दीपकबहादुर सिंहले नाराहिटी दरबारभित्र रहेका गणतन्त्र स्तम्भ बनेको पाँच वर्ष हुँदा पनि अवलोकनका लागि खुल्ला नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै, सांसद दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकारले सङ्घीयताको मूल मर्मविपरीत स्थानीय तहको अनुदान रकम कटौती गरिएको भन्दै आपत्ति जनाउनुभयो । सांसद दीपा शर्माले बाँकेलगायत कर्णाली प्रदेशका जनताले लोडसेडिङ अन्त्य भएको अनुभूति गर्न नपाएको बताउनुभयो ।
सांसद दुर्गा राईले भोजपुरका सडक निर्माणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद देवप्रसाद तिमल्सिनाले हुरीका कारण देशका विभिन्न स्थानमा भएका क्षतिबारे अध्ययन गरी सरकारले क्षतिपूर्ति र राहातको व्यवस्था गर्न अनुरोध गर्नुभयो । सांसद नागिना यादवले खाद्य, मल, खानेपानीलगायत किसानका समस्या समाधान गर्नुपर्ने माग गर्नुभयो । सांसद प्रतिमा गौतमले फोहोर व्यवस्थापन र सडक फुटपाथको विषयलाई छलफलका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी सांसद प्रतीक्षा तिवारीले मधेस प्रदेशमा खानेपानीको समस्या बढ्दै गएको भन्दै खानेपानी र सिँचाइको दीर्घकालीन समाधानका लागि पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो । सांसद प्रेम सुवालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिरहेका कामका बारेमा जिज्ञासा राख्नुभयो । ‘नेपालको गरिबी निवारण मन्त्रालयले के गर्दै छ’ उहाँले प्रश्न गर्नुभयो ।
सांसदहरु नारायणी राना, प्रेमबहादुर महर्जन, वासुदेव घिमिरे, विन्दबासिनी कंसाकार, विनिता कठायत, ध्रुवबहादुर प्रधान, निर्मला कोइराला, नैनकला थापा, निशा डाँगी, नारायणप्रसाद आचार्य, दीपक गिरीले हुरीले पुर्याएको क्षति, बढ्दो महङ्गी र विभिन्न जिल्लामा देखिएको लोडसेडिङका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति