
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र प्राप्तिपछिका अवधिमा मुलुकको समग्र विकासले गति लिएको बताउनुभएको छ ।
गणतन्त्र दिवस–२०८१ का अवसरमा राससले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उहाँले मुलुकमा आर्थिक समृद्धिको प्रमुख आधार मानिएको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ भन्नुभयो ।
अध्यक्ष नेपालले गणतन्त्र स्थापनापछि नेपालमा ‘केही पनि भएको छैन’ भन्नेलाई फोटो प्रदर्शनीले गतिलो जवाफ दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘गणतन्त्रपछिको अवधिमा विकास निर्माणको कार्य उपलब्धिमूलक भएको छ, त्यसको झलक प्रदर्शित तस्बिरले सबै कुरा यथार्थ रूपमा बोलेको छ ।’
पूर्वप्रधानमन्त्री नेपालले गणतन्त्रका उपलब्धिलाई जनतामाझ लैजान र जनताको पक्षमा काम गर्न सबै जिम्मेवारीताकासाथ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले गणतन्त्र प्राप्तिपछिका उपलब्धिलाई फोटोले सचित्र वर्णन गरेको पनि उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपाललाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, सञ्चचालक समिति सदस्य कृष्ण अधिकारी, नायब महाप्रबन्धकत्रय राजु शाक्य, श्याम रिमाल र सोमनाथ लामिछाने, प्रधानसम्पादक उत्तम सिलवाल , प्रमुख समाचारदाता एकराज पाठक र प्रशासन प्रमुख शीतलप्रसाद महतो लगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराउनुभएको थियो । त्यस अवसरमा पूर्वप्रधानमन्त्री नेपालले राससको केन्द्रीय समाचार सङ्कलन तथा सम्पादनकक्षको अवलोकन गरी समाचार सङ्कलन र सम्प्रेषणका बारेमा जानकारी लिनुभएको थियो ।
जेठ १० गतेदेखि शुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्र समेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् ।
विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादन लगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तीब्र प्रदर्शनी गरेको थियो ।
प्रदर्शनीमा ऊर्जा, विमानस्थल, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनःनिर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ–मधेस द्रुतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोशी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, टेलिफोनका फोरजी टावर, एकीकृत बस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजना लगायत तस्बिर समावेश छन् । तस्बिर प्रदर्शनीमा विशिष्ट व्यक्ति र जिज्ञासु सर्वसाधरण आउनेक्रम जारी रहेकाले प्रदर्शनीको समयावधि एक साता थप गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति