+

पर्यटकीय गन्तव्य बन्दै ज्यामरुककोट

म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पूर्वाधार विस्तार गरिएको छ । ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पूर्वाधार विस्तार गरिएको हो । 

गण्डकी प्रदेश सरकारअन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा खड्गभवानी कोत परिसरमा पूर्वाधार विस्तार गरिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो । 

‘बेनीमा आउने पर्यटकको बसाई लम्बाउन ज्यामरुककोटमा पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौँ’  उहाँले भन्नुभयो– ‘पूर्वाधार विस्तारसँगै यहाँ भक्तजन र पर्यटकको चहलपहल बढेको छ । पूर्वाधारले उनीहरुलाई सहज बनाएको छ ।’

प्रदेश सरकारको  १० लाख रुपैयाँको लागतमा खड्गभवानी कोतघर परिसरमा पर्खाल निर्माण गरेर फराकिलो बनाइएको छ । अठ्तीस मिटर लामो र दुई मिटर अग्लो मेसिनरी पर्खाल निर्माण गरिएको खड्कभवानी कोत मन्दिर संरक्षण समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो । 

पर्खाल बनाएर फराकिलो बनाइएको कोतघर परिसरमा भक्तजन र पर्यटक बस्न १० बेञ्च राखिएका छन् । यसअघि प्रदेश सरकारको १५ लाख रुपैयाँको लागतमा भकुुण्डेदेखि खड्गभवानी कोतघर परिसरमा पुग्ने तीन सय आठ मिटर पक्की पदमार्ग निर्माण गरिएको पूर्ववडाध्यक्ष हीराबहादुर थापाले बताउनुभयो । 

प्रदेश सरकारकै १० लाखबाट कन्थरथानतर्फबाट कोतघर परिसरमा पुग्ने पदमार्ग निर्माण गरिएको छ । कोतघर परिसरमा ५ लाखमा गणेशको मन्दिर बनाइएको छ । कोत परिसरमा दुई सय १० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएका छन् । 

पन्धौँ शताब्दी प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुककोट (खड्गभवानी कोत) परिसरलाई पर्यटकीय गन्तव्य बनाउन बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएका हुन् । यहाँ मल्लकालमा प्रयोग भएका दुर्लभ हातहतियार समेत छन् । बयालिस रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा, तरबारलगायत हातहतियार, प्राचीन शिला÷इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै यथावत् छन् । 

समुद्री सतहदेखि एक हजार ६ सय ४८ मिटर उचाइमा रहेको ज्यामरुककोटबाट धौलागिरी, नीलगिरी, अन्नपूर्णलगायत हिमशृङ्खला, सदरमुकाम बेनी बजार, पञ्चकोट तथा विभिन्न ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट