
काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको २९औँ पटक सफल आरोहण गरी विश्वकीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा ३०औँ पटक आरोहणका लागि सगरमाथाको चुचुरोतिर उक्लनुभएको छ ।
वसन्त ऋतुको जारी आरोहणमा कामीरिताले वैशाख ३० गते सगरमाथाको २९औँ पटक आरोहण गरेर यसअघि २८औँ पटक सगरमाथा आरोहणको कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाउनुभएको थियो ।
कीर्तिमान भङ्ग गर्दै यही सिजनमा सगरमाथाको दोस्रो पटक आरोहणका लागि कामीरिता सोमबार चुचुरोतर्फ लाग्नुभएको हो । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार कामीरिताले भोलि बुधबार बिहान सगरमाथाको चुचुरोमा पुग्ने योजना अनुरुप अहिले सगरमाथाको चौँथो शिविरनजिक हुनुहुन्छ ।
‘कामीरिता शेर्पा ३०औँ पटक सगरमाथा आरोहणका लागि अहिले साउथकोल नजिक पुग्नुभएको छ । भोलि बिहान चुचुरोमा पुग्ने योजना छ’ फिल्ड कार्यालय प्रमुख गौतमले भन्नुभयो ।
सोलुखुम्बु थामेका ५४ वर्षीया कामीरिता सगरमाथाको सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र पर्वतारोही हुनुहुन्छ । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुनुहुन्छ ।
अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । सगरमाथामा विभिन्न कीर्तिमान कायम गर्ने प्रतिस्पर्धा नै चलिरहेको छ । यही याममा पत्रकार पूर्णीमा श्रेष्ठले एक सातामा ३ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने योजना अनुरुप सगरमाथाको चुचुरोतर्फ लाग्नुभएको छ । पत्रकार श्रेष्ठले यो याममा दुई पटक सगरमाथा आरोहण गरिसक्नुभएको छ ।
तेस्रो आरोहणका लागि उहाँ पनि चुचुरोतर्फ लाग्नुभएको जनाइएको छ । होटा पुड्का सागर सुनुवारले पनि यही याममा सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने उद्देश्यसहितसगरमाथा आरोहणमा जानुभएको छ । कास्कीका सागर तीन फिट सात इन्च अग्लो हुनुहुन्छ । यही याममा सगरमाथा आरोहणका लागि अनुमति लिएकामध्ये ७० प्रतिशत आरोहीले आरोहण गरिसकेको प्रमुख गौतमले जानकारी दिनुभयो ।
उहाँले यस याममा आरोही र शेर्पा सहयोगीसहित चार सय ६० ले सगरमाथा आरोहण गरेको बताउनुभयो । ‘हालसम्म करिब ७० प्रतिशत आरोहीले सगरमाथा आरोहण गरिसक्नुभएको छ’ उहाँले भन्नुभयो– ‘अबको चार दिनमा आरोहणका लागि मौसम उपयुक्त भएकाले बाँकी आरोहीले आरोहण सक्ने अनुमान गरिएको छ ।’
खाली हुँदै सगरमाथा आधार शिविर
सगरमाथाको आधार शिविरस्थित चाँदीझै टल्कने हिउँमा रङ्गीविरङ्गी त्रिपालले सजिएको सगरमाथाको आधारशिविर बिस्तारै सुनसान बन्दै गएको छ । सगरमाथा आरोहण सकेर आरोही गन्तव्यतर्फ लागेको तथा बाँकी आरोही आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लागेकाले आधारशिविर सुनसान बन्न थालेको विभागको फिल्ड कार्यालयका प्रमुख गौतमले बताउनुभयो । उहाँका अनुसार यो याममा सगरमाथा आधारशिविरमा आरोहीको व्यवस्थापनका लागि एक हजार पाँच सय पाल टाँगिएको थियो ।
आधारशिविरमा पर्वतारोही, शेर्पा गाईड र सहयोगी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधि गरी तीन हजार हाराहारी मानिसको चहलपहल थियो । आरोहण यामको दुई महिनाभर आधारशिविरमा मानवीय चहलपहल रहन्छ ।
यस याममा दुई जना मङ्गोलियन नागरिकको मृत्यु भएको विभागले जनाएको छ । आरोहणका क्रममा घाइते भएका ५० जना भन्दाबढी आरोहीको सगरमाथाको विभिन्न क्षेत्रबाट उद्धार गरिएको छ । घाइतेमध्ये कतिपय आरोहीको हात आँखा खिइएको छ । उनीहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिले यो पटक आधार शिविरमा हुने अवैधानिक गतिविधि रोक्ने, जथाभावी ड्रोन उडाउने तथा विदेशी नागरिकको अवैध गतिविधि नियन्त्रणमा पनि भूमिका खेलेको जनाइएको छ । बेसक्याम्पमा एक हजार पाँच सयभन्दा बढी पालमा भोलि बिहान साउथ कोल नजिक हुनुहुन्छ । मे २५ भित्र मौसम राम्रो भएकाले सोही समयभित्र आरोगण गरिसक्न विभागको फिल्ड कार्यालयले सबै आरोहीलाई सूचित गरेको छ ।
यस वर्षको वसन्त आरोहण गत वैशाख २८ गतेदेखि सुरु भएको थियो । आरोहणका लागि १० जना दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको थियो । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण करिब अन्तिम चरणमा पुगेको बताउनुभयो । मौसम अनुकूल रहेकाले बाँकी आरोही पनि सहज रुपमा चुचुरो पुग्ने अनुमान गरिएको उहाँले उल्लेख गर्नुभयो ।
विभागको पर्वतारोहण शाखाका अनुसार यो सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री