
काठमाडाैँ । वाग्मती सफाइ महाअभियानअन्तर्गत हालसम्म छ हजार बिरुवा रोपिएका छन् । बाह्र वर्षको अवधिमा वाग्मती नदी किनारमा अभियान्ताद्वारा उक्त सङ्ख्यामा बिरुवा रोपिएका हुन् ।
आज यहाँ वाग्मती सफाइ महाअभियानको १२औँ वर्ष प्रवेशका अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानका अभियन्ता एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालले वाग्मती सफाइसँगै नदी किनारमा छ हजार बिरुवा हुर्काइएको जानकारी दिनुभयो । “नदीका किनारमा देखिएका रुखहरु हामीले हुर्काएका हौँ”, उहाँले भन्नुभयो, “बिरुवा धेरैले रोपेका होलान् तर हामीले हुर्काएका छौँ । मृतप्रायः नदीलाई जीवन दिए पनि अझै सोचेजस्तो भएको छैन ।”
सफाइ महाअभियानलाई यति धेरै वर्षसम्म यो अभियानले निरन्तरता पाइराख्नु ठूलो उपलब्धि रहेको पूर्वमुख्यसचिव पौड्यालले बताउनुभयो । उहाँका अनुसार हालसम्म वाग्मती किनारबाट करिब २१ हजार मेट्रिकटन फोहर उठाइसकिएको छ । उहाँले सफाइ अभियानकै दबाबमा बालुवा चोरीनिकासी पूर्णरुपमा बन्द भएको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आममानिसमा फोहर गर्ने संस्कारको अन्त्य हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जसरी तपाईंहरूले सफाइ अभियानमा समय दिनुभएको छ यो सहभागिताले निरन्तरता पाइराख्नुपर्छ । वाग्मती सफाइमा राज्यका सम्बन्धित निकायले व्यवहारिक योजना बनाउन आवश्यक छ ।”
मन्त्री तामाङले नागरिकमा अभियानका बारेमा चेतना अभिवृद्धि गर्नुपर्ने भन्दै मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सांसद सोविता गौतमले मानव सभ्यताको विकास नै नदीबाट भएकाले यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फोहरको उचित व्यवस्थापनका लागि कुहिने र नकुहिने छुट्याउने, जथाभावीरुपमा फोहर नफाल्नेलगायत विषयमा जनचेतना जनाउनु आवश्यक छ । मेरो सक्रिय जीवनमा नदी र प्रकृतिबारे आवाज उठाइराख्नेछु ।”
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले वाग्मतीलाई ढलमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “वाग्मतीलाई ढल मुक्त बनाउने चुनौती छ । वाग्मतीको व्यवस्थापनका लागि ‘कोरिडोर’ निर्माण गरी ट्राफिक व्यवस्थापन सहज बनाएका छौँ”, उहाँले भन्नुभयो, “ढल मिसिने खोलामा पानी कसरी बढाउने भन्ने चुनौती छ । ढल प्रशोधन गर्न प्रविधि परीक्षण भइरहेको छ ।”
वाग्मती सफाइ महाअभियान २०७० साल जेठ ५ गतेदेखि सुरु भएको हो । ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ थालिएको अभियानको यो ५७५औँ साता हो । तिलगङ्गा आँखा अस्पताल नजिक आज भएको सफाइमा दुई सय सफाइ अभियान्ताको सहभागिता थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाङले नदी किनारमा बिरुवा पनि रोप्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री