
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञान र विकासबिना कुनै पनि मुलुकको समृद्धि सम्भव नभएको बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुएसन अफ साइन्स एण्ड टेक्नोलोजीद्वारा आज वीरेन्द्रनगर, सुर्खेतमा आयोजित ‘युवा वैज्ञानिक सम्मेलन’को उद्घाटन समारोहमा मुख्यमन्त्री कँडेलले अहिलेको विश्वको विकास र समृद्धिको उपज विज्ञान तथा प्रविधि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘विश्वको लागि विज्ञान र प्रविधि विकास एवं समृद्धिको मूल औजार बनेको छ । समृद्धिका सुचकाङ्क देखिनुमा यसकै ठूलो योगदान छ ।’
विज्ञान र प्रविधिको क्षेत्रमा भएका अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्नुका साथै यसलाई अझ फराकिलो बनाउने काममा सम्मेलनले सहयोग पुर्याउने मुख्यमन्त्री कँडेलको भनाइ छ । उहाँले भन्नुभयो– ‘विज्ञान र प्रविधिका क्षेत्रमा नवीनतम् सिर्जना हासिल गर्न विद्यार्थीलाई यसैमा उत्साहित भएर लाग्न प्रेरणा मिल्नुपर्दछ । आशा छ, यो सम्मेलनले युवा वैज्ञानिकहरूमा भएको विशिष्टीकृत ज्ञान, सीप, प्रविधि र नवीन विचारमार्फत उनीहरुलाई नवीनतम् कामका लागि अभिप्रेरित गर्नेछ ।’
विज्ञान र प्रविधि क्षेत्रको कार्यले नीति निर्माण तहमासमेत महत्त्वपूर्ण सुझाव र राय प्राप्त हुने उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले युवा वैज्ञानिकका कार्य प्रशंनीय भए पनि राज्यको लगानी यसमा पर्याप्त नभएको टिप्पणी गर्नुभयो । ‘राज्यको ध्यान यसमा जान सकेको छैन । स्रोत साधनको अभावमा पनि नेपालका कैयन युवा वैज्ञानिकले विश्वस्तरमा प्रतिस्पर्धा गरेको खबरले हर्षित तुल्याएको छ’ उहाँले भन्नुभयो ।
विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुनसक्छ भन्दै मुख्यमन्त्री कँडेलले युवाको ज्ञान, सीप र सिर्जनालाई प्रोत्साहन गर्न सकेमात्र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताउनुभयो । देशलाई समुन्नत बनाउन र आर्थिक विकासका निम्ति उत्पादनसँग जोड्न तथा जनताको स्तर उकास्न नवप्रवर्तन एवं नवीनतम् प्रविधि आवश्यक पर्ने औँल्याउँदै उहाँले अनुसन्धानकर्तासँगको सहयोग र सहकार्यमार्फत प्रविधिको विकासलाई संवर्द्धन गर्न कर्णाली सरकार विश्वविद्यालयसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मध्यपश्चिम विश्वविद्यालयले विज्ञान र प्रविधिको सहयोगले विश्व प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले विश्वविद्यालयको उन्नयन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले विश्वविद्यालय सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्ने साझा थलो भएको बताउनुभयो । सम्मेलनमा प्राध्यापक रामेश्वर अधिकारीले ‘विज्ञान, प्रविधि र आजको युवा’सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । सम्मेलन दुई दिनसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना