+

लगानी सम्मेलनमा उठेका विषय तत्काल कार्यान्वयनमा लगिने

काठमाडौँ  । सरकारले सोमबार काठमाडौँमा सम्पन्न भएको तेस्रो लगानी सम्मेलनमा उठान भएका महत्वपूर्ण विषयलाई तत्काल कार्यान्वयनमा लैजाने भएको छ ।  

लगानी बोर्डको मुख्य आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ सहआयोजनामा आइतबार र सोमबार दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा उठाइएका विषयलाई सरकारले तत्काल कार्यान्वयन लैजाने तयारी गरेको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन २०२४ निर्देशक समितिका सदस्य सचिव सुशील भट्टले सम्मेलन सफल रहेको जनाउँदै यसपछि पनि निरन्तर ‘फलोअफ’ संयन्त्रका साथ अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । ‘उदाहरणका लागि लगानी बोर्डसँग गाँसिएको या कार्य क्षेत्रमा भएका १२ वटा परियोजनाको हकमा ४५ दिनको म्याद दिएर आइतबार नै सूचना प्रकाशन पनि गरिसकेका छौँ’ उहाँले भन्नुभयो, – ‘यो शुरु भइसकेपछि ती प्रस्तावकको आर्थिक प्राविधिक पक्षलाई मूल्याङ्कन गरेर सूचीकृत गर्ने छौँ । त्यसमा सिलबन्दी प्रस्ताव माग गर्ने छौँ र ठोस आयोजनाबाट अगाडि बढ्ने छौँ ।’

उहाँले लगानी प्रवद्र्धनका लागि अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिन नेपाल सफल भएको बताउनुभएको छ । तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनामा संसारभरका व्यवसायी, उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो प्राप्त भएको उहाँको भनाइ छ । ऊर्जा, सूचना प्रविधि, पर्यटन र पूर्वाधारलगायतका क्षेत्रका प्राथमिकता एवं सम्भावित परियोजना प्रदर्शन गरेर नेपाललाई एक आकर्षक लगानी गन्तव्यको रूपमा प्रस्तुत गर्न सफल भएका भट्टले बताउनुभयो ।

यसैगरी स्वदेशी लगानीकर्ताले पनि नेपालमा लगानी मैत्री वातावरण बन्दै गइरहेको जनाउँदै सम्मेलन सफल रहेको टिप्पणीसमेत गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सम्मेलन सफल रहेको जनाउँदै अब कार्यान्वयनको पक्षलाई जोड दिन आग्रह गर्नुभएको छ । ‘फलोअफ नगरेकै कारण विगतका लगानी सम्मेलनमा कतिपय प्रतिबद्धता गरिएका लगानी कार्यान्वयनमा आउन सकेनन्’ उहाँले भन्नुभयो, ‘सम्मेलनले नेपालमा लगानीको अवसर रहेको र राम्रो मुनाफा दिन सक्छ भन्ने लगानीकर्तालाई दिएको छ ।’  

अध्यक्ष ढकालले तेस्रो लगानी सम्मेलन सुरु भएपछि जारी भएको अध्यादेशले निजी क्षेत्रलाई प्रोत्साहन दिन खोजेको बताउनुभयो । ‘हामीले कुन कुन कानुन सुधार गर्नुपर्छ भन्ने विषयमा सरकारलाई सुझाव दिएका थियौँ । हामीले दिएका कतिपय सुझाव अध्यादेशले समेट्न नसके पनि समग्रमा हाम्रो माग सम्बोधन भएको छ’ उहाँले भन्नुभयो– ‘सरकार आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धनका लागि प्रयन्त रहेको सकारात्मक सन्देश गएको छ ।’

‘भारत, चीन, अमेरिकालगायतका मुलुकबाट आउने लगानीकर्ता तथा  विकास साझेदार निकायले नेपालमा लगानीको सम्भावना रहेछ’ भन्नुभयो– ‘यसले पनि निकै सकारात्मक सन्देश दिएको छ ।’ उहाँले ती लगानीकर्ताले नेपालको जलविद्युत्, पर्यटन, कृषि तथा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न उत्सुक देखिएको बताउनुभयो । सबै राजनीतिक दलले लगानी सम्मेलनमा गरेको प्रतिवद्धताले महत्वपूर्ण सन्देश दिएको पनि उहाँले जानकारी दिनुभयो ।  

उहाँका अनुसार अब सरकारले नियमावली, कार्यविधि, बनाउने लगानी प्रतिबद्धता गर्ने लगानीकर्तालाई फलोअफ गर्दै जान आवश्यक रहेको छ । लगानी सम्मेलनमा सबै राजनीतिक दलहरु एकैढिक्का भएर प्रतिवद्ध हुनुले लगानीमैत्री वातावरण तय भएको सकारात्मक सन्देश प्रवाह गरेको अध्यक्ष ढकालको भनाइ छ । 

लगानी बोर्डका अनुसार सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढीको सहभागिता थियो । सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डिङ -लगानीकर्ताको प्रतिक्रिया संकलन ९ परियोजनासहित कूल एक सय ५४ परियोजना प्रस्तुत गरिएको थियो । आशयपत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैरऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट