
इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसकेको र कूल ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मतदान भएको जानकारी दिएको छ ।
कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र अन्य दुईले मतदान गरेका छन् । सो क्षेत्रमा ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई अन्यसहित एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मत खसेको थियो ।
इलाम–२ मा ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान भएको थियो । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
उहाँका अनुसार मतगणना आज रातिबाट शुरु गर्ने तयारी छ । आज राति १०–११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ ।
चाँडो मतपेटिका आए सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना गरिने प्रजिअ यादवले बताउनुभयो । सदरमुकामबाट टाढाका पालिका चुलाचुली, माङसेबुङ, फाकफोकथुम गाउँपालिकाबाट मतपेटिका ल्याउन समय लाग्नेछ ।
मतगणनाका लागि इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल) तयार गरिएको छ । सिटी हलको एक कोठामा तार जाली लगाएर गणकमात्र भित्र बस्न मिल्ने बनाइएको छ ।
मतपेटिका भण्डारणका लागि सभाहलको भित्री भाग तयार गरिएको छ । यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान गरिएको छ ।
मतगणनास्थलमा भीडभाड हुन नदिन चोक बजारमा रहेको डिस्प्लेमा मतगणनाको परिणाम देखाइने भएको छ । यसका लागि प्राविधिक तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गर्ने तयारी छ ।
विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै